काठमाडौं। उमेरले ६ दशक टेकेका रामबहादुर तामाङ अझै हट्टाकट्टा नै देखिन्छन्। सिन्धुपाल्चोक बाह्रबिसेका तामाङ अहिले हिरासतमा छन्।
एक दशकदेखि एउटै कर्ममा लागेका तामाङका लागि हिरासतको यात्रा कल्पनाबाहिरकै विषय थियो। किनकि उनी आफ्नो आपराधिक कर्मलाई सधैं छल्दै आइरहेका थिए। समातिएपछि प्रहरीको बयानमा बारम्बार ‘पत्यार नै नलाग्ने’ कदमका रूपमा उनले अर्थ्याइरहेका छन्।
उनीसँगै उनकी ५१ वर्षीय श्रीमती बिबी तामाङ पनि घटनामा तानिएकी छिन्। दुवै जना एकै परिसरको हिरासतमा छन् अहिले।
नक्कली डलर देखाएर ठगी गर्ने गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समात्दा तामाङ दम्पती पनि समातिएका हुन्। प्रहरीको दाबीलाई मान्ने हो भने रामबहादुर नै मुख्य योजनाकार हुन् विदेशी मुद्रा ठगी कारोबारका।

त्यसो त काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा भएका डलर ठगी प्रकरणमा कतै न कतै रामबहादुरको नाम जोडिन्थ्यो। तर प्रहरी १० वर्षसम्म पनि उनको छेउछाउसम्म पुग्न सकेको थिएन।
‘काठमाडौं उपत्यकाभित्रका नक्कली डलर प्रकरणमा उनी नजोडिएको केस नै कम छ। त्यसैले उनलाई अहिले पनि सोध्दा पछिल्ला सात वटाभन्दा अघिका केस बिर्सिएको बताइरहेका छन्,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले भने।
नक्कली डलरका ‘मनी एक्सचेन्जर‘ रामबहादुर
प्रहरीसँग अहिले काठमाडौं उपत्यकाभित्रका तीन केसमा रामबहादुरविरुद्ध उजुरी परेको छ। त्यसबाहेक अन्य घटनामा पनि उनको समूह परिचालन भएको प्रहरीको दाबी छ।
प्रहरीको अनुसन्धान अनुसार दश वर्षदेखि नक्कली नोटको ठगी धन्दामा उनले आफूसँगै परिवारलाई समेत सामेल गराएका छन्। पक्राउ परेकी उनकी श्रीमतीले पनि कारोबारमा साथ दिँदै आएकी थिइन्। श्रीमतीको जिम्मा थियो -रकम व्यवस्थापन र ‘ रेकी’ गर्ने।
‘घटनास्थलमा कोही अरू मानिस आएको छ या छैन। त्यहाँको अवस्थालगायतका बारेमा जानकारी दिन रामबहादुरले श्रीमतीलाई प्रयोग गरेको देखिन्छ,’ एसएसपी राठौरले भने।
तामाङकी श्रीमतीबाहेक अन्य दुई छोरा पनि छन्। दुवै छोरा अलग्गै बस्छन्। दम्पतीका दुवै छोराको पृष्ठभूमिमा पनि नक्कली डलर ‘केस’ गाँसिएको छ। प्रहरीका लागि रामबहादुरका दुवै छोरा पनि नयाँ नाम होइनन्।

रामबहादुरले काठमाडौंका तीन जिल्ला मात्र नभएर यी सँगै जोडिएका धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र मकवानपुरमा नक्कली डलरको कारोबार गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। यस खाले ‘धन्दा’ चलाउने रामबहादुरसँग १० देखि १२ जनाको समूह नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। अनुसन्धानमा खटिएका प्रहरीको शब्दमा रामबहादुर नक्कली डलरको ‘मनी एक्सचेन्जर’ नै हुन्।
पछिल्लो सात महिनामा नक्कली डलरसँग जोडिएका १७ वटा केस काठमाडौं उपत्यकाभित्र दर्ता भएका छन्। त्यसले देखाउँछ नक्कली कारोबारको बढ्दो सक्रियता।
ठगीको ‘डेमो‘ यस्तो
रामबहादुरको समूहले विभिन्न माध्यमबाट डलर आवश्यक पर्ने व्यक्तिको पहिचान गर्थ्यो। र, तिनै मानिसलाई फोन गरेर सस्तोमा डलर साट्न लोभ्याउँथ्यो। बजारमा डलरको मूल्य १३३ रुपैयाँ रहँदा उनको टिमले ९० रुपैयाँमै साट्ने बताएपछि मानिसहरू सजिलै लोभिने भए।
त्यसपछि उनीहरूले डलर साट्नका लागि एकान्त ठाउँमा बोलाउने गर्दै आएका थिए।
‘मानिस पैसा लिएर आएपछि पुलिस यता आएको छ उता भेटौँ भन्दै लोकेसन चेन्ज गरेको देखियो,’ एसएसपी राठौरले भने।
टार्गेट गरेको व्यक्तिले पैसा लिएर आएपछि उनीहरूले आफूसँगको डलर देखाउँथे। रुमालभित्र माथिपट्टि र तलतिर सक्कली नोट र बीचमा कागजको मुठो हालेर डलरको बन्डल तयार पारेका हुन्थे उनीहरूले। डलर लिन आएका व्यक्तिलाई उनीहरूले गन्न चाहिँ निषेध गर्थे। त्यसका लागि ‘पुलिस आउँछ…’भन्दै अत्याइदिन्थे। गैरकानुनी बाटोबाट डलर किनेकाले नाफासँगै जोखिम त तौलिने नै भयो। त्यसपछि पाएको डलर गन्ती नगरी उनीहरू हिँड्थे।
केही गरी नक्कली नोट भएको भेउ पाइहाले भने यस समूहले हातहतियार देखाएर तर्साउँदै रकम लुटेर फरार हुन्थे।
सरकारले तोकेका निकायबाट मात्र डलर सटही गर्न सुरक्षा निकायले जतिसुकै अनुरोध गरे पनि लालचमा परेका मानिसहरूलाई रामबहादुरहरुले सिकार बनाउँदै आएका छन्। यतिसम्म कि नक्कली डलरको खेलो फड्कोमा मनी एक्सचेन्जरमा कार्यरत व्यक्तिहरू समेत परेका केस प्रहरीसम्म आइपुगेको छ।










