काठमाडौं। देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको आम्दानीमा ठूलो गिरावट देखिएको छ। गत आर्थिक वर्ष कांग्रेसको आम्दानी ७५.५१ प्रतिशतले घटेको हो।
गत आर्थिक वर्ष कांग्रेसले ३ करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँ आम्दानी गरेको छ। जबकि अघिल्लो आर्थिक वर्ष यो रकम १४ करोड ८९ लाख ८४ हजार ८७ रुपैयाँ थियो।
लेभी, नयाँ सदस्यता, सदस्यता नवीकरण, क्रियाशील सदस्यता शुल्क लगायत सबैजसो शीर्षकको रकम घटेपछि कांग्रेसको आम्दानी १ वर्षमै ११ करोड २५ लाख १७ हजार रुपैयाँ घटेको हो।
सदस्यताबाट हुने आम्दानी ह्वात्तै घटेको छ। पार्टीलाई प्राप्त हुने चन्दा र सहयोगको रकम पनि ओरालो लागेको देखिएको छ।
अघिल्लो वर्ष २०७८/७९ मा सदस्यता, लेभी र नवीकरण शीर्षकमा ७ करोड ४३ लाख ३ हजार ५०१ रुपैयाँ आम्दानी गरेको कांग्रेसले गत आर्थिक वर्ष २०७९/८० मा यी तीन शीर्षकमा ५७ लाख ६० हजार ८०० रुपैयाँ मात्र आर्जन गरेको छ।
लेभीतर्फ अघिल्लो वर्ष २ करोड ५८ लाख ८३ हजार ६०० रुपैयाँ उठाएको कांग्रेसले गत वर्ष यही शीर्षकमा ५७ लाख ६० हजार रुपैयाँ प्राप्त गरेको एच पहाडी एण्ड एसोसिएटस् चार्टर्ड एकाउन्टेन्टसले गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ।
कांग्रेसले गत वर्ष क्रियाशील सदस्यता शुल्कबाट जम्मा ८०० रुपैयाँ पाएको छ। यही शीर्षकमा अघिल्लो वर्ष ६ करोड ९२ लाख १४ हजार ६२१ रुपैयाँ उठेको थियो।
क्रियाशील सदस्यता शुल्क बापतको रकम जिल्लाबाट नआइपुगेकोले आय कम देखिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। ‘जिल्लाहरुबाट सदस्यता शुल्क बापतको रकम आएको छैन। क्रियाशीलको नवीकरण जारी छ। त्यसैले लेखापरीक्षणमा नदेखिएको हो,’ पौडेलले भने। उनका अनुसार कांग्रेससँग ९ लाख क्रियाशील सदस्य छन्।
क्रियाशील सदस्यले नवीकरण शुल्क २०० रूपैयाँ तिर्नुपर्छ। नयाँ क्रियाशील सदस्यता लिनेले ३०० रुपैयाँ बुझाउनुपर्छ। यस्तै साधारण सदस्यता शुल्क १० रुपैयाँ हो।
कांग्रेसलाई चन्दा तथा सहयोग पनि घटेको छ। अघिल्लो वर्ष ६ करोड ६८ लाख २४ हजार चन्दा पाएको कांग्रेसले यो शीर्षकमा गत आर्थिक वर्ष २ करोड ६५ लाख ६४ हजार ५७७ रुपैयाँमा चित्त बुझाएको छ।
कांग्रेसले आम्दानीभन्दा खर्च शतप्रतिशतभन्दा धेरै गरेको छ। गत आर्थिक वर्ष कांग्रेसले विभिन्न शीर्षकमा ७ करोड ९९ लाख ९५ हजार १२१ रुपैयाँ खर्च गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।

चुनावले बढायो खर्च
कांग्रेसको सबैभन्दा बढी खर्च चुनावमा भएको देखिन्छ। चुनाव प्रचारका लागि कांग्रेसले ३ करोड ८८ लाख ५७ हजार ९९३ रुपैयाँ खर्च गरेको छ। २०७९ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भएको थियो। अघिल्लो वर्ष यो शीर्षकमा १ करोड १५ लाख ६५ हजार २१० खर्च भएको थियो। त्यो वर्ष स्थानीय तहको निर्वाचन भएको थियो।
स्थानीय तहको चुनावको तुलनामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रचारमा कांग्रेसले दुई गुणाभन्दा धेरै रकम खर्च गरेको हो।
एक वर्षमा गरेको आम्दानी कार्यालय संचालनमै सकिएको छ। यो शीर्षकमा ३ करोड २२ लाख ५० हजार ४३२ रुपैयाँ खर्च भएको छ। कर्मचारीका लागि १ करोड २० लाख र साधारण तथा प्रशासनिक शीर्षकमा २ करोड २ लाख ४५ हजार ९३२ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

मुद्दतीमा ३ करोड, नगद मौज्दात २ करोड
कांग्रेससँग विभिन्न बैंकमा ३ करोड रुपैयाँ मुद्दती निक्षेप छ। त्यसबाहेक १ करोड ९४ लाख १६ हजार ५२५ रुपैयाँ विभिन्न बैंकमा नगद मौज्दात छ। भवन निर्माण कोषमा ७ करोड ५ लाख ७४ हजार ९१० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
बैंक खातामा करिब ५ कोड रुपैयाँ राखेको कांग्रेसले ३ करोड ३७ लाख ६७ हजार रुपैयाँ तिर्न बाँकी छ।
ललितपुरको सानेपामा ६ रोपनी जग्गामा ४२ कोठाको चार तले भवन रहेको कांग्रेसले आफूसँग ५ करोड ५९ लाख ६२ हजार ६७० रुपैयाँ बराबरको सम्पत्ति रहेको जनाएको छ। जग्गाको मूल्य २५ लाख ४६ हजार ६०० र भवनको मूल्य ४ करोड ८५ लाख ९१ हजार ६४५ रुपैयाँ उल्लेख गरिएको छ।
राजनीतिक दलहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आय व्यय विवरण लेखा परीक्षण गराइ निर्वाचन आयोगमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ। आयोगमा बुझाएको एक महिनाभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्छ।











