काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अन्तर्राष्ट्रिय छवि बिगारेको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग मंसिर १५ गते सात दिने स्पष्टीकरण सोध्यो। युरोपेली युनियन (ईयू)को प्रतिवेदनपछि एकाउन्टेबल म्यानेजरको रुपमा रहेका अधिकारीलाई किन नहटाउने भन्दै क्यानले स्पष्टीकरण सोधेको थियो।
क्यानले एग्रेसिभ बन्दै स्पष्टीकरण सोधे पनि अधिकारीमाथि कुनै कारबाही भएन। अधिकारीले बुझाएको स्पष्टीकरण बारे क्यानले केही बताएन। उनी निगमको अध्यक्षमा बहाल रहिरहे।
निगमको उडान सुरक्षामा गम्भीर लापर्बाही गरेकाले स्पष्टीकरण सोधिएका अधिकारी कसरी उम्किन सफल भए? क्यान स्रोतका अनुसार अधिकारीले कारबाहीबाट आफू जोगिन निगमका धीरेन्द्र रौनियारलाई ‘भिक्टिम’ बनाएको खुलेको छ।
रौनियार निगमको कर्पोरेट सेफ्टी निर्देशक थिए। उनले आफ्ना कारण नभई सेफ्टी डाइरेक्टर रौनियारका कारण सुरक्षामा गम्भीर लापर्बाही भएको जिकिर क्यानमासामु गरेका थिए। रौनियार इन्जिनियर हुन्। अधिकारीले दोष थोपर्नुका साथै रौनियारलाई सेफ्टी डाइरेक्टरबाट हटाएका छन्। र, त्यो ठाउँमा विकास थापालाई ल्याइएको छ।
आफ्नो पद जोगाउन अधिकारीले रौनियारको जिम्मेवारी खोसेर ल्याएका थापा अनुभवी होइनन्। उनी आठौं तहका कर्मचारी हुन्। संवेदनशील मानिने सेफ्टीमा १०औं तहको कर्मचारी खटाउनुपर्नेमा थप कमजोर पठाएर अधिकारीले उडान सुरक्षा प्रणालीमा गम्भीर लापर्बाही गरेको निगमका एक कर्मचारीले बताए।
‘अडिटले निगमकै सुरक्षा प्रणालीमा प्रश्न उठाएपछि प्राधिकरणले अधिकारीसँग सपष्टीकरण सोध्यो,’ ती कर्मचारीले भने, ‘तर अधिकारीले आफू बच्न रौनियारलाई हटाए। उनको ठाउँमा झन् कमजोरलाई जिम्मेवारी दिएर गम्भीर लापर्बाही गरे।’
उनका अनुसार कर्पोरेट सेफ्टी डाइरेक्टरको जिम्मेवारी इन्जिनियर, पाइलट, सुरक्षा विभाग, संचालन विभाग लगायतको निरीक्षण गर्ने हो। सुरक्षा विभागको जिम्मेवारीका लागि पाँच वर्षको अनुभवको मापदण्ड छ।
निगममा अहिले कर्पोरेट सेफ्टी डाइरेक्टरको जिम्मेवारीका लागि १७ जना इन्जिनियर र एक दर्जनभन्दा बढी पाइलट योग्य छन्।
तर, अनुभवहीन कर्मचारीलाई कर्पोरेट सेफ्टी डाइरेक्टरको जिम्मेवारी दिइएकै कारण क्यानले स्वीकृति दिएको छैन। हरेक वायुसेवाको अपरेसन, क्वालिटी, सेफ्टी, अकाउन्टेबल मेनेजर लगायतमा क्यानको अनिवार्य स्वीकृति चाहिन्छ। क्यानको स्वीकृति पछि मात्र यी पदका कर्मचारीले काम गर्न पाउनेछन्।
‘कुनै पनि वायुसेवाले यी पदका लागि कर्मचारी हेरफेर गर्दा प्राधिकरणको स्वीकृति अनिवार्य छ। बैंकको सीइओ नियुक्त गर्दा राष्ट्र बैंकबाट स्वीकृति लिएजस्तै वायुसेवा कम्पनीले मुख्य पदमा कर्मचारी नियुक्त गर्दा हाम्रो स्वीकृति लिनुपर्छ,’ क्यानका एक कर्मचारीले भने, ‘योग्यता नपुगेका कर्मचारीलाई प्राधिकरणले कुनै पनि हालतमा स्वीकृति दिँदैन।’










