सेयर बजारमार्फत सरकारलाई करिब २ अर्ब लाभकर, अल्पकालीन लगानीकर्ताले तिरे १.१६ अर्ब



अन्जना सुवेदी
२०८० माघ ४ गते २०:०८ | Jan 18, 2024
सेयर बजारमार्फत सरकारलाई करिब २ अर्ब लाभकर, अल्पकालीन लगानीकर्ताले तिरे १.१६ अर्ब

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष सेयर बजारमार्फत करिब २ अर्ब रुपैयाँ पुँजीगत लाभकर पाएको छ। पुस लागेपछि कारोबार रकम ह्वात्तै बढ्दा त्यसको लाभ सरकारलाई भएको हो। लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्दा नाफामा बिक्री गरेको अवस्थामा ५ देखि ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ।

Tata
GBIME
Nepal Life

दोस्रो बजारमार्फत सरकारले चालु वर्ष पुस मसान्तसम्म १ अर्ब ८९ करोड २४ लाख रुपैयाँ पुँजीगत लाभकर पाएको छ। सीडीएससीको तथ्यांक अनुसार त्यसमध्ये ३९ प्रतिशत पुस महिनामा संकलन भएको हो। पुसमा ७४ करोड ३९ लाख रुपैयाँ लाभकर संकलन भएको तथ्यांक छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामार्फत सेयर धितो कर्जाको जोखिम भार घटाएपछि सेयर बजार पुसमा १६८.४५ अंकले बढेर करेक्सन भएको थियो। पुसमा नेप्से १९८६.०६ बिन्दुबाट २१५४.५१ बिन्दुसम्म पुगेको थियो। पुसमा कारोबार रकममा पनि सुधार भएको थियो।

यसबीचमा धेरै लगानीकर्ताले नाफा बुक गरेका छन्। बजारमा अल्पकालीन लगानीकर्ता सक्रिय भएको पुँजीगत लाभकरको तथ्यांकले स्पष्ट पारेको छ।

पुसमा अल्पकालीन लगानीकर्ताबाट मात्रै ५२ करोड ४४ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको छ। दीर्घकालीन लगानीकर्ताबाट १७ करोड २८ लाख, संस्थागत लगानीकर्ताबाट ४ करोड ५८ लाख र स्टक डिलरबाट ६ लाख ६७ हजार रुपैयाँ संकलन भएको छ।

दोस्रो बजारमा अल्पकालीन लगानीकर्ताले सबैभन्दा धेरै पुँजीगत लाभकर तिरेका छन्। सीडीयससीको तथ्यांक अनुसार अल्पकालीन लगानीकर्ताले ६ महिनामा १ अर्ब १६ करोड लाभकर बुझाएका हुन्।

दीर्घकालीन लगानीकर्तामार्फत ५० करोड ५७ लाख, संस्थागत लगानीकर्तामार्फत २२ करोड ३४ लाख र स्टक डिलरबाट १५ लाख ८४ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ।

वर्षका ६ महिनामध्ये कात्तिकमा सबैभन्दा कम ८ करोड ४१ लाख रुपैयाँ लाभकर संकलन भएको थियो। कात्तिकमा दसैं तिहारका कारण २ साता सार्वजनिक बिदा थियो।