काठमाडौं। सर्वोत्तम सिमेन्टले आज(बुधबार)बाट सर्वसाधारणमा आइपीओ जारी गरेको छ। कम्पनीले पहिलोपटक उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि साधारण सेयरको बिक्री खुलाएको हो।
बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ जारी गर्ने यो पहिलो कम्पनी हो।
कम्पनीले जारी पुँजीको २ प्रतिशतले हुन आउने ९ लाख ३० हजार कित्ता नवलपरासी जिल्लाका उद्योग प्रभावित क्षेत्रका लागि बिक्री गर्ने भएको छ।
बाँकी रहेको २७ लाख ७० हजार कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ६७ हजार कित्ता साधारण सेयर कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिएर रोजगारीमा गएका नेपालीहरुका लागि बिक्री गर्ने छ।
वैदेशिक रोजगारीमा गएकाका लागि आइपीओ आवेदन छिटोमा माघ १० गतेसम्म दिन पाइन्छ। स्थानीयको हकमा मात्र पर्याप्त आवेदन नपरे सेयर आवेदन अवधि माघ २५ गतेसम्म थप गरिने छ।
आवेदन प्रति कित्ता ३६०.९० रुपैयाँका दरले दिन सकिन्छ। सेयर खरिदका लागि न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल छ। एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल पनि सहनिष्कासन तथा बिक्री प्रबन्धक हुन्।










