अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका कर्मचारीमाथि पनि तस्करीको शंका, परे अनुसन्धानको घेरामा



सविन ढकाल
२०८० पुष १५ गते १८:११ | Dec 31, 2023
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका कर्मचारीमाथि पनि तस्करीको शंका, परे अनुसन्धानको घेरामा

काठमाडौं। नेपाल उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका कर्मचारी पनि अनुसन्धानको घेरामा परेका छन्। तस्कर समूहले विमानका कर्मचारी समेत प्रयोग गरेर विदेशबाट अवैध सामान नेपाल भित्र्याउने गरेको खुलेपछि अनुसन्धानमा परेका हुन्।

Tata
GBIME
Nepal Life

गत सातामा फ्लाई दुबईबाट आएका यात्रुको साथमा किलोका किलो सुन भेटिएपछि वायुसेवा सञ्चालक कम्पनीमाथि पनि प्रश्न उठेको छ। त्यस्तै भिजिट भिसाको नाममा हुने मानव तस्करीमा पनि विदेशी विमानका कर्मचारीको संलग्नता भएको शंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

मंसिर २१ गते फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौं ओर्लिएका चन्द्र घलेको साथबाट त्रिभुवन भन्सार कार्यालयले १४ किलो सुन बरामद गरेको थियो। त्यसको दुई दिनपछि सोही विमानबाट आएका इजिप्टका नागरिक सरिफ मोहम्मद लासिमलाई साढे ६ किलो सुनसहित भन्सारको चेकिङ एरिया पास भएपछि प्रहरीले पक्राउ गरेको थियो।

तस्कर समूहले दुबईबाट आएको एउटै विमान प्रयोग गरेको देखिएको छ। लगातार एउटै विमान तस्करले प्रयोग गरेको देखिएपछि कारण खोज्दै त्रिभुवन भन्सार कार्यालय सम्बन्धित वायु सेवा कम्पनीका प्रतिनिधिसँग अनुसन्धानकर्मीले छलफल गरेका थिए।

१४ किलो सुन प्रकरणपछि फ्लाई दुबई र हिमालयन एयरलाइन्सका व्यवस्थापनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बोलाएर छलफल गरेको थियो।

‘किन एउटै विमानबाट सुन आइरहेको छ भनेर हामीले सम्बन्धित विमानका व्यवस्थापकसँग छलफल गरेका थियौं। यस विषयलाई हाम्रो निकायले हेरिरहेको छ,’ त्रिवि भन्सारका कार्यालयका प्रवक्ता श्रीधर टन्डनले भने।

त्यस्तै दुबईबाट नेपाल भित्रिने अवैध तरिकाको सुनमा फ्लाई दुबई र हिमालयन एयरलाइन्स बढी प्रयोग गरेको देखिएको छ। विदेशबाट नेपालमा डेढ दर्जन विदेशी कम्पनीका विमानले उडान भर्ने गरेका छन्। सुन प्रकरणमा थाई एयरलाइन्सका कर्मचारीहरू संलग्न भएको अघिल्ला घटनाहरूले नै देखाउँछ। यतिसम्म की थाई एयरलाइन्सको भर्‍याङमा नै राखेर सुन विमानस्थलबाट बाहिरिने गरेको थियो।

थाई एयरको हेल्पर टेक्निसियनका रुपमा काम गर्ने तक्ले भनिने पुण्यप्रसाद लामाको सहयोगमा २०७४ को ३३ किलो सुन प्रकरणमा विमानको भर्‍याङमा सुन राखेर निकाल्ने गरेको देखिएको थियो। ४० वर्षदेखि थाई एयरलाइन्समा टेक्निसियनको रुपमा काम गर्ने गोपालकुमार श्रेष्ठको संलग्नता भएको देखिएको थियो।

‘हाम्रो अनुसन्धानमा पनि अन्तर्राष्ट्रिय विमानका कर्मचारीको संलग्नता देखिएको थियो। कम्पनीकै हकमा भने अहिलेसम्म त्यो देखिँदैन,’ पूर्व एआइजी वसन्तकुमार लामाले भने।

नेपालमा दुबई, हङकङ, कतारबाट सबैभन्दा धेरै अवैध तरिकाबाट सुन आउने गरेको छ। विदेशबाट नेपाल छिर्ने बेलामा त्यहाँको भन्सार र विमानले सहजै सुन ल्याउन दिन्छ। तर यहाँ हाम्रो देशको कानुनमा अवैध मानिँदा तस्करीका यस्ता सामानहरू समातिने गरेका छन्।

सुरक्षा र प्राविधिकरुपमा विदेशका विमानस्थल र त्यहाँका भन्सारहरू सुरक्षित हुन्छन्। तर नेपालमा अवैध भनिएका वस्तुहरूको बारेमा विमान सञ्चालक कम्पनी र सम्बन्धित देशले चासो नदिइँदा यस्ता अवैध सामान सुनदेखि ब्राउन सुगरसम्म सहजै भित्रिने गरेका छन्।

लागूऔषधको हकमा त प्रहरीले विदेशबाट आइसकेपछि फर्किने बेलाम मात्र सुराकीको आधारमा समात्ने गर्छ। अनि प्रश्न उठ्छ विदेशबाट सहजै यस्तो अवैध लागूऔषध कसरी नेपाल आइपुग्यो?

देशअनुसार प्रतिबन्धित सामान र वस्तुको फरक नियम हुन्छ। नेपालबाट विदेश जाँदा एयरलाइन्सले के लैजान हुने/नहुने एक एक जानकारी लिन्छ र चेक गर्छ। तर त्यही देशबाट नेपाल आउँदा भने किन कडाइको साथ लागू हुँदैन। नेपालमा अवैध भनिएका वस्तु सहजै विमानसम्म कसरी पुग्छ?

अन्तर्राष्ट्रिय विमान कम्पनीका व्यवस्थापकसँग पनि सरकारी निकायले र सम्बन्धी देशसँग राष्ट्रिय पक्षबाट यस विषयमा छलफल हुनुपर्ने देखिन्छ। अर्थमन्त्री डा. रामशरण महतले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग यस विषयमा कुराकानी भइरहेको जानकारी दिएका छन्।

मानव तस्करीमा पाँच अन्तर्राष्ट्रिय विमान कम्पनी!

काठमाडौं उपत्यका प्रहरी कार्यालय दुई महिनादेखि भिजिट भिसाको नाममा नक्कली कागजपत्र बनाएर मानव तस्करी गर्नेहरूविरुद्ध अपरेसन चलाएको छ। जुन घटनामा सरकारी कर्मचारी, सुरक्षाकर्मी मात्र होइन अन्तर्राष्ट्रिय वायुसेवाका कर्मचारीको समेत संलग्नता खुलेको छ।

अनुसन्धान टोलीले ३२ जनालाई पक्राउ गर्दा नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र पाँचौं तहका कर्मचारी अरविन यादव समातिएका छन्। उनीहरूले नक्कली कागजपत्रको आधारमा फर्जी टिकटमा आवतजावत र सिस्टम भने एक तर्फको मात्र भाडा राखेर टिकट मिलाएको देखिएको छ।

यसरी टिकट मिलाएबापत एक जनाबाट १० हजार रुपैयाँ लिने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। राष्ट्रिय विमान मात्र होइन अन्य अन्तर्राष्ट्रिय विमानका कर्मचारीको समेत संलग्नता देखिएको छ। कुनै समय दैनिक २ सय जनाभन्दा बढी मानिस फर्जी कागजको आधारमा नेपालबाट विदेश उड्ने गरेका थिए। जसका लागि फ्लाई दुबई, हिमालयन एयरलाइन्स,  थाई एयरलाइन्स, मलेसिया एयरलाइन्स लगायतबाट तस्कर समूहले मानिस पठाउने गरेका थिए। जसमध्ये पाँच वटा अन्तर्राष्ट्रिय विमान कम्पनीका कर्मचारी शंकाको घेरामा छन्।

‘पाँच अन्तर्राष्ट्रिय विमान कम्पनीमा काम गर्नेहरूको संलग्नता भएको आशंका छ। थप अनुसन्धान र प्रमाण जुटाउन लागिरहेका छौं,’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने।

यस प्रकरणमा कर्मचारीको मात्र संलग्नता हो वा कम्पनीले नै आँखा चिम्लिएको हो भनेर पनि प्रहरीले अनुसन्धान गर्ने छ। तर, राज्यका तर्फबाट नै नेपाल उडान भर्ने विमानलाई हाम्रो देशमा अवैध मानिने सामानका बारेमा कडाइका साथ कार्यान्वयन गर्न घचघच्याइनुपर्ने देखिन्छ।