काठमाडौं। ललितपुर सिटी एसफसी नेपाल सुपर लिग (एनएसएल) को च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा धनगढी एफसीलाई ३-२ गोलअन्तरले हराउँदै ललितपुर च्याम्पियन बनेको हो।
समर्थकहरुले भरिएको रंगशालामा ड्रोनबाट बल ल्याएर खेल सुरु गरिएको थियो। रंगशालामा पूर्ण क्षमतामा दर्शक आउँदा धेरै समर्थक भने स्टेडियम बाहिरै रहे।
रोमाञ्चक पहिलो हाफको खेलमा अग्रता भने धनगढी एफसीले बनाएको थियो। खेलको ३८ औँ मिनेटमा अफीज ओलावालेले अहमद हिजाजीले राम्रो फुटवर्कबाट निकालेको क्रसमा गोल गर्दै धनगढीलाई अग्रता दिलाए। गोल गरेपछि जर्सी खोलेर सेलिब्रेट गरेका अफीजलाई रेफ्री राम दासनले पहेँलो कार्ड दिए।

पहिलो हाफको इन्ज्युरी समयमा ललितपुर खेलमा फर्कियो। धनगढीका कमल श्रेष्ठले पेनाल्टी क्षेत्रको ठीक बाहिर हेण्डबल गरेपछि ललितपुरले फ्रिकिकको अवसर पाएको थियो। जसमा इमोह इजोकेलले सोझै गोलपोस्टमा गरेको प्रहार धनगढीका गोलकिपर मोहम्मद ताहाले जोगाउन सकेनन्।
पहिलो हाफमा खेल १-१ गोलको बराबरीमा रोकियो। दोस्रो हाफमा भने ललितपुरले एकतर्फी दवाब बनाउन सफल भयो।
दोस्रो हाफको सुरुमै ललितपुरले अग्रता बनाउने अवसर पाएको थियो। ४७ औँ मिनेटमा अनिल महर्जनले आदित्य शाक्यको राम्रो क्रस पाए पनि फ्रेममा प्रहार गर्न सकेनन्।

तर, लगत्तै शाक्यले नै गोलका लागि राम्रो एसिस्ट गरे। खेलको ५० औँ मिनेटमा शाक्यकै क्रसमा दिनेश हेन्जनले ललितपुरलाई अग्रता दिलाए।
लगत्तै तेस्रो गोल पनि ललितपुरले थप्यो। यसपटक ५८ औँ मिनेटमा धनगढीका गोलकिपरले राम्ररी ‘ग्रिप’ गर्न नसकेको बललाई नजिकै रहेका ललितपुरका पापा इबोउ केबेको पासमा इमोन इजिकेलले एक्रोब्याट प्रहार गर्दै सानदार गोल गरे।
त्यसपछि पनि ललितपुरले आक्रामक खेल नै पस्किइरह्यो। दोस्रो हाफमा धनगढीमाथि पूर्ण दवाब बनाउँदै ललितपुरले सहज जित निकाल्यो।

इन्ज्युरी समयमा धनगढीले सान्त्वना गोल भने फर्काउन सफल भयो। दोस्रो गोल अहमद हिजाजीले गरेका थिए।
योसँगै एनएसएलले दोस्रो च्याम्पियन पाएको छ। पहिलो संस्करणमा काठमाडौं रेजर्स धनगढीलाई नै हराएर च्याम्पियन बनेको थियो। च्याम्पियन बनेको ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्नेछ।













