राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ दल दर्ता, निर्वाचन आयोगले दियो चिह्‍न



बिजमाण्डू
२०८० पुष १ गते १७:०५ | Dec 17, 2023
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ दल दर्ता, निर्वाचन आयोगले दियो चिह्‍न
निर्वाचन आयोग

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दल दर्ता भएका छन्। निर्वाचन आयोगले दल दर्ताका लागि मंसिर २९ गतेसम्मको समय दिएको थियो।

Tata
GBIME
Nepal Life

दर्ता भएका दललाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमार्फत प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गरी चुनाव चिह्‍न प्रदान गरिएको आयोगले जनाएको छ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, जनता समाजवादी पार्टी लगायत दल दर्ता भएका हुन्। प्रदेश सभा निर्वाचनमा उममेदवारी नदिएको र स्थानीय तह निर्वाचनका बेला गठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टी भने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएको छैन।

यो निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्।

‘दर्ता भएका दलका लागि २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्‍न प्रदान गरिएको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय सभामा फागुन २० गते रिक्त हुने १९ सदस्य सदस्य चयनका लागि आयोगले माघ ११ गते मतदान मिति तोकेको छ।