भारतको संसद भवनभित्र स्मोक क्रयाकर उडाउने सबैजना बेरोजगार, प्रहरीसँगको बयानमा के भने ?



बिजमाण्डू
२०८० मंसिर २८ गते ०८:२८ | Dec 14, 2023
भारतको संसद भवनभित्र स्मोक क्रयाकर उडाउने सबैजना बेरोजगार, प्रहरीसँगको बयानमा के भने ?
Photo : Telegraph India

सन् २००१ डिसेम्बर १३ मा भारतको संसदमा आतंककारी आक्रमण भयो। हिजो सो आक्रमणको २२ वर्ष पूरा भएको दिन भारतीय संसदमा फेरि घुसपैठ भयो।

Tata
GBIME
Nepal Life

लोकसभा सत्र चलिरहँदा हिजो दिउँसो दुईजना व्यक्ति संसद बैठक चलिरहेको ठाउँमा पुगे। दर्शकका लागि माथि छुट्याइएको ठाउँबाट हाम फालेर दुईजना युवक सांसदहरु बसिरहेको ठाउँमा पुगे। कुर्सीमाथि दौडिएका युवकलाई सांसदले घेरेर कुटपिट गरे। पछि ती युवकले बैठक कक्षमै जुत्ताबाट स्मोक क्रयाकर निकाले। जसकारण संसद बैठक कक्षा धुँवाले भरियो

ठिक त्यही बेला संसद भवन बाहिर पनि दुईजनाले त्यस्तै स्मोक क्रयाकर बालेर प्रदर्शन गरेका थिए। प्रहरीले सो घटनामा संलग्न चारजनालाई पक्राउ गर्‍यो।

कडा सुरक्षा व्यवस्था हुने संसद भवनमा यसरी सजिलै मानिसले स्कोम क्रयाकर लिएर जानुले ठूलै सुरक्षा चुक भएको भन्दै सरोकारवाला निकायको आलोचना भइरहेको छ। यसबारेमा हाल प्रहरीसँगै भारतको इन्टेलिजेन्स ब्यूरोहरुले पनि छानबिन गरिरहेको छ।

प्रहरीले हिजो दिउँसो चारजनालाई पक्राउ गरेकोमा अहिले थप एकजना पक्राउ गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। पक्राउ पर्नेको नाम विशाल शर्मा हो।  

भारतीय संचार माध्यमका अनुसार दर्शक बस्ने ठाउँबाट हाम फाल्ने व्यक्तिको नाम सागर शर्मा र मनोरन्जन डी हो। यी दुवै जना कर्नाटकको मैसुरका हुन्। उनीहरु मैसुरकै सांसद प्रताप सिम्हाको सिफारिसमा बैठक भवनमा प्रवेश गरेका थिए। प्रहरी र इन्टेलिजेन्सले सांसउद सिम्हासँग पनि सोधपुछ गर्ने तयारी गरेको छ। उनी सत्तारुढ भारतीय जनता पार्टीकै सांसद हुन्।

यस्तै, संसद भवन बाहिर धुँवा उडाउनेको नाम निलम देवी र अनमोल सिन्धे हो। निलमका परिवारका अनुसार उनी जागिर पाउन नसकेको कारण निराश थिइन्।

प्रहरीले पक्राउ परेका सबैजनाको कल हिस्ट्रीसँगै च्याट, बरामद भएको दस्तावेजको अध्ययन गरिरहेको छ। साथै, उनीहरुको घर पुगेर अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका सबैजना बेरोजगार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको हिन्दुस्तान टाइम्सले। निलमले पक्राउ पर्दा सरकारले बेरोजगार बढेको र काम पाउन सकेको बताएकी थिइन्। प्रहरीले ललित नाम गरेका युवकको खोजी गरिरहेको छ।

पक्राउ परेका ५ जना र फारार रहेका ललितले एकअर्कालाई चिन्ने प्रहरीले जनाएको छ। सामाजिक संजालको माध्यमबाट उनीहरुको ४ वर्षअघि परिचय भएको थियो। तर, उनीहरुका परिवारलाई भने संसद भवनमा उनीहरुले के गर्न गइरहेका छन् भन्ने थाहा नभएको खुलेको छ। अनमोलले प्रहरीलाई आफूहरु बेरोजगारी, किसान आन्दोलन र मणिपुर घटनाका कारण निराश भएको बयान दिएका छन्।

प्रहरी र इन्टेलिजेन्स ब्यूरोहरुले हाल यो आक्रमणलाई आतंककारी आक्रामण भन्न नसक्ने बताएका छन्। तर, घटनाबारे सबै कोणबाट अनुसन्धान हुने जनाइएको छ। सुरक्षा चुक कसरी भयो भन्नेबारेमा पनि अध्ययन हुनेछ। हिजोको घटना पछि संसदभवनको सुरक्षा रणनीति परिवर्तन गरिएको छ। गृह मन्त्रालयले पूरा घटनाको छानबिन गरेर रिपोर्ट बुझाउन निर्देशन दिएको छ। विपक्षी पार्टीले भने नरेन्द्र मोदी सरकारसँग संसद भवनभित्र भएको सुरक्षा चुकबारे जवाफ मागेको छ।