काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिमा भारतको फड्को नेपालका लागि अनुकरणीय भएको बताएकी छन्।
भारतीय राजदूतावासले मंगलबार काठमाडौंमा गरेको डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको क्षेत्रमा भारतको सिको गरेर नेपालले लाभ लिन सक्ने बताइन्। उनले नेपालले भारतबाट ब्यान्डविथ खरिद गरिरहेको उल्लेख गर्दै मूल्य कम गर्नका लागि पहल गरिदिन राजदूतसँग आग्रह गरिन्।
सरकारले डिजिटल नेपाल फ्रेमवर्कमार्फत डिजिटल सार्वजनिक पूर्वाधार निर्माणका लागि सार्वजनिक सेवा प्रवाहलाई त्यसैअनुरूप अघि बढाउँदै लगेको उनको भनाइ छ।
उनले दुई देशबीच अन्तरदेशीय विद्युतीय भुक्तानीलाई मूर्तरुप दिन आवश्यक रहेको भन्दै सरकार त्यसमा सहकार्य गर्न तयार रहेको बताइन्।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले युवाले सूचना प्रविधि क्षेत्रमा पुर्याइरहेको योगदानबारे नेपाल सरकारले अनुमान नै गर्न नसक्ने बताए। उनले आगामी फ्रेब्रुअरीसम्म नेपाल र भारतबीच क्रसबोर्डर वित्तीय कारोबार जनस्तरमै सुरु गर्न प्राविधिक तयारी भइरहेको जानकारी दिए।











