कडा निगरानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी तस्करी हुन्छ सुन?

सविन ढकाल
२०८० मंसिर २२ गते २०:१३ | Dec 8, 2023
कडा निगरानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी तस्करी हुन्छ सुन?

काठमाडौं। विदेशबाट नेपाल फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा सुरक्षा चेकिङका नाममा बेल्टदेखि जुत्तासम्म खोल्न लगाएको देख्‍ने/भोग्ने जो कसैले पनि गर्ने प्रश्‍न हो – यस्तो ठाउँबाट तस्करीको किलोका किलो सुन कसरी बाहिरिन्छ?

Tata
GBIME

कडा निगरानी देखेकाहरु त्यसै कारण भन्छन्- ‘सेटिङबिना विमानस्थलबाट सुन बाहिरिन सम्भव नै छैन।’

विमानस्थलमा जहाज रोकिएपछि यात्रुले साथमा रहेको ह्यान्डब्याग चेकिङ प्रक्रिया पूरा गरेर मात्र अध्यागमनबाट बाहिर ल्याउन पाउँछन्। लगेज पनि पूरै स्क्रिनिङ पूरा गरेपछि मात्र यात्रुसम्म पुग्छ। रन-वेबाट सटलबस हुँदै यात्रु अध्यागमन गेटसम्म सहजै आइपुग्छन्।

अध्यागमन गृह मन्त्रालय मातहतको कार्यालय हो। यात्रु र उनीहरुले ल्याउने वस्तुमाथि कडा निगरानी हुन्छ। अध्यागमनका कर्मचारीले भिसा, पासपोर्ट लगायत कागजपत्र हेर्छन्। तिनै डकुमेन्टका आधारमा यात्रुको पासपोर्टमा ‘अराइभल’ छाप लगाइन्छ। कुनै संशय हुनेखालका गतिविधि छैन भने यहाँसम्मको प्रक्रियामा यात्रुको खानतलासी हुँदैन।

अध्यागमनको निगरानीमा ‘वाक थ्रो’कै बीचमा भन्सार कार्यालयका कर्मचारीले लगेज स्क्रिनिङ गर्छन्। पर्याप्त सुरक्षाकर्मीको उपस्थितिमा जाँचपछि यात्रु एस्कालेटर या लिफ्टबाट तल झर्छन्। विमानस्थल बाहिरिने गेट अगाडि पुग्दासम्म एक्स-रे मेसिनदेखि अन्य डिटेक्टरबाट यात्रुको खानतलासी भएको हुन्छ।

मोनिटरबाट स्क्रिनिङ भइसकेका लगेजमा शंका लागे सुरक्षाकर्मीले थप जाँच गर्न सक्छन्। व्यावसायिक हिसाबले सामान ल्याएको छैन या भन्सारका अन्य प्रक्रिया पूरा गर्नुपर्ने छैन भने यात्रु बाहिरिनतिर लाग्छन्।

अचम्मलाग्दो के छ भने कर्मचारी सकेसम्म एक्स रे मेसिन प्रयोग गर्न चाहँदैनन्। ‘खराब ‘रे’ फाल्ने भएकाले स्वास्थ्यलाई ध्यान दिएर एक्स-रे कम प्रयोग हुन्छ,’ एक कर्मचारीले कारण खुलाए। उनका अनुसार अन्य उपकरणबाट र म्यानुअल जाँच चाहिं ‘कडा’ नै हुन्छ। यी सबै चरण पूरा भएपछि यात्रु सामानसहित विमानस्थलबाट निक्लिन पाउँछन्।

बिहिबार राति बरामद गरिएको तस्करीको सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ दर्जनभन्दा बढी निकायका कर्मचारी हुन्छन्। अध्यागमनबाहेक नेपाल प्रहरी डीआईजीको नेतृत्वमा परिचालित छ। प्रहरीकै लागूऔषध ब्युरोदेखि साइबर ब्युरोसम्मको उपस्थिति छ। कतिपय अवस्थामा शंका लागे विमानस्थल बाहिर पनि यात्रुको जाँच गर्ने अधिकार सुरक्षा निकायसँग रहन्छ।

यतिधेरै सुरक्षा घेरा कट्दै ‘एक्जिट’ पार गरेर कसरी कानुनले निषेध गरेभन्दा धेरै अर्थात तस्करीको सुन वा अन्य सामग्री विमानस्थलबाट बाहिर ल्याउन सम्भव हुन्छ त?

तस्करीको आयाम बुझ्न विमानस्थल कसरी सञ्चालित हुन्छ भन्ने थाहा पाउनुपर्छ, ह्यान्ड क्यारी र लगेजका प्रावधान बुझ्नुपर्ने हुन्छ। त्यति मात्र होइन, जुन मुलुकको विमानस्थलबाट आएको हो त्यहाँको अध्यागमन र विमानस्थलको प्रक्रियाको पनि भूमिका रहन्छ।

विदेशको विमानस्थलमा कडा परीक्षणपछि मात्रै लगेज वा ह्यान्ड क्यारी ल्याउन अनुमति पाइन्छ। तस्करी गर्नेले त्यहाँका अध्यागमन वा विमानस्थलमा सेटिङ नगरी सामान सजिलै भित्र्याउन सक्दैनन्।

पानीको बोतलधरि विमानस्थलमा लैजान निषेध हुने भएकाले किलोका किलो सुन वा अन्य वस्तु तस्करी गरेर यात्रुले जहाजभित्र पुर्याउन सम्भव हुँदैन। डिपार्चर भएको विमानस्थलको अध्यागमन पास तस्करीको पहिलो खुड्किलो हो। त्यहाँको जाँच पास भएपछि संदेहपूर्ण सामग्री ओसारपसार भएको छैन भन्ने बुझिन्छ। तर, तस्करले अनेक उपाय लगाएर त्यहाँका अध्यागमन छलेका हुन्छन्।

यसरी भित्र्याइएका सामान नेपालको विमानस्थल आइपुगेपछि बाहिर ल्याउन पहिलो भूमिका लोडरको हुन्छ। जो ग्राउन्ड ह्यान्डलिङ गर्ने निकाय मातहत हुने गर्छ। त्रिभुवन अन्तर्ररा्ष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल एयरलाइन्सको हो।

त्यसरी भित्रिएको लगेज एक्स-रे बेल्टसम्म तिनै लोडरले पुर्‍याउँछन्। त्यहाँ जाँच हुन्छ। त्यसपछि भन्सारका कर्मचारीले चेक गर्छन्। अनि मात्र लगेज यात्रुको पहुँचमा पुग्छ। चेक गर्दा शंका लागे लगेजमा (रेड च्यानल) लेखेर पुनः परीक्षणमा पठाइन्छ। मेसिनले पत्ता नलागे पनि संदेह भएमा लगेज खोलेर हेर्ने अधिकार भन्सारका कर्मचारीलाई हुन्छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डे

यी सबै प्रक्रिया हेर्दा भन्न सकिन्छ – विमानस्थलबाट तस्करी त हुनै सक्दैन। तर, भइरहेकै छ। कसरी जारी छ तस्करी?

तस्करीको सुन कसरी बाहिरिन्छ त?

नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा ‘सेटिङ’ बिना विमानस्थलबाट ठूलो परिमाणमा सुन ततस्करी सम्भव नहुने बताउँछन्। ‘ठूलो परिमाणका सुनमा ठूलै लगानी हुन्छ। त्यसैले तस्करले रिस्क लिन चाहँदैन। रिस्क कम गर्न उसले सेटिङ गरेको हुन्छ,’ शर्माले भने।

विमानस्थलका कर्मचारीको संलग्नतामा सुन तस्करी हुँदै आएको ओपन सेक्रेट नै हो। विमानस्थलमा खटिएका सुरक्षाकर्मी, अध्यागमन, भन्सार, वायु सेवा प्रदायक कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी तथा लोडर र स्वीपरदेखि भन्सार एजेन्टसम्म पटकपटक अनुसन्धानमा परिसकेका छन्।

दुबईबाट बिहीवार राति आएका व्यक्तिको साथमा बरामद भएको १४ किलो सुन नेपाल छिराउन कर्मचारीको संलग्नता थियो कि थिएन? सुनका भरियाको आत्मविश्वासले संकेत गर्छ – कर्मचारीसँग सेटिङ थियो। सेटिङमा तस्करीका समान छुटाउँदा हुने कमाइकै लागि त विमानस्थलमा सरुवाका लागि प्रहरीदेखि अध्यागमन, भन्सार लगायत निकायका कर्मचारीले मरिहत्ते गर्ने गरेका छन्। सरुवाका लागि निर्णायक तहमा रहेकाहरुलाई घुस नै खुवाउनुपर्ने कर्मचारीहरुले नै बताउने गरेका छन्।

उनीहरुले सेटिङ नमिल्दा तस्करीको सुन समाउने गरेका छन्। बिहीवार राति अवैधरुपमा ल्याइएको १४ किलो सुनसहित गोरखाका ४५ वर्षीय चन्द्र घलेलाई विमानस्थल भन्सार कार्यालयको टोलीले जहाजबाट नै समातेको हो। सुन घलेको शरीरमै थियो।

सेटिङ नभएको भए उनले यसरी ल्याउने हिम्मत गर्ने नै थिएनन् भन्छन् पूर्वएआइजी शर्मा। ‘१४/१४ किलो सुन सेटिङबिना कसैले शरीरमा बोकेर आउने हिम्मत गर्छ र?,’ उनले भने, ‘घलेको साथको सुन सेटिङ बिग्रिएर समातिएको हो। अब यसमा क कसको सेटिङ थियो भन्ने कुरा अनुसन्धान गर्ने निकायले हेर्लान्?’

सेटिङ भएको अवस्थामा कर्मचारीले तस्करी गरिएको वस्तु हो भन्ने जान्दा जान्दै नदेखेको अभिनय गरिदिन्छन्। के कर्मचारीमाथि चेकिङ हुँदैन र? विमानस्थलभित्र पस्दा र बाहिर निस्कँदा सबै कर्मचारीमाथि जाँच हुन्छ।

‘तर यात्रुलाई जस्तो कडा जाँच हुँदैन। सबै चिनजानकै हुन्छन्। विमानस्थलबाट बाहिरिने केही ढोकामा कर्मचारीका लागि एक्सरे मेसिन छैन,’ विमानस्थलमा कार्यरत ती कर्मचारीले सुनाए।

जहाज उडाउने कम्पनीका कर्मचारी पनि सेटिङमा

कतिपय केसमा लुकाइछुपाइ ल्याएका सुन अवतरण भएसँगै जहाजको ट्वाइलेटमा छाड्ने गरेको पनि पाइएको छ। यसखाले तस्करीमा ट्वाइलेट सफा गर्नेले फोहरसँगै मिसाएर अध्यागमन र भन्सारलाई बाइपास गर्ने गरेको पाइन्छ। भन्सारका कर्मचारी र प्रहरीलाई नै सेटिङबाहिर राखेर लोडर र स्वीपरसँगको मिलेमतोमा तस्करी भएका उदाहरण पनि छन्। यस्तै जहाज सफापछि फ्याँकिने फोहरमार्फत् समेत सुन तस्करी भएका उदाहरण छन्।

चर्चित ३३ किलो सुन प्रकरणमा थाइ एयरलाइन्सका कर्मचारी र विमानस्थलका कर्मचारीको मिलेमतो खुलेको थियो। २०७४ माघमा ३३ किलो सुन प्रकरणमा अनुसन्धान गर्दा जहाजबाट भन्सार छल्दै जहाजका कर्मचारीको मद्दतमा सुरक्षितरुपमा विमानस्थलबाट बाहिर ल्याएको सरकारले गठन गरेको समितिको छानबिनले देखाएको थियो।

थाइ एयरवेजको दुबई हुँदै आउने उडानबाट पटकपटक सुन तस्करी भएको देखिएको थियो। तस्करीका लागि थाइ एयरवेजका कर्मचारीले जहाज सफा गर्ने स्वीपरसँग सेटिङ गरेको र त्यही अनुरुप ट्वाइलेट सफा गर्दा सुन निकालेर भर्‍याङको प्वालमा खसाली यात्रुहरू चढ्ने र ओर्लने काम सकिएपछि भर्‍याङ विमानस्थलको ग्यारेजमा पुर्‍याइ राति निकालिएको प्रतिवेदनमा उल्लेख छ। यस प्रकरणमा सेटिङ खुलासा हुने क्रममा एक कर्मचारी विमानस्थलभित्रै दुर्घटनामा मारिएका थिए।