अर्थतन्त्रबारे छलफल गर्न प्रधानमन्त्री दाहालले बोलाए गोलमेच, प्याकेज घोषणा गरिने



बिजमाण्डू
२०८० मंसिर १ गते १५:३० | Nov 17, 2023
अर्थतन्त्रबारे छलफल गर्न प्रधानमन्त्री दाहालले बोलाए गोलमेच, प्याकेज घोषणा गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार तनहुँमा। तस्वीर: दाहालको निजी सचिवालय

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका विषयमा छलफलका लागि गोलमेच बैठक डाकेका छन्। उनले मंसिर ४ गते बैठक राखेका हुन्।

Tata
GBIME
Nepal Life

तनहुँको आबुखैरनीमा शुक्रबार दिउँसो पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सोमबारका लागि बैठक बोलाएको बताए।

‘मैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो। अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर दबाबमुक्त भइसकेको छैन,’ उनले भने, ‘अर्थतन्त्र सुधारका लागि मंसिर ४ गते मैले बृहत बैठक बोलाएको छु।’

उनले बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने बताए। ‘उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ,’ उनले भने।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयय र राष्ट्र बैंकसँग आवश्यक छलफल गरी प्याकेज ल्याइनेछ। ‘आन्तरिक अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री चिन्तित हुनुहुन्छ। यस विषयमा योजना बनाउन वृहत सम्मेलन गर्ने प्रधानमन्त्रीको चाहना हो,’ आचार्यले भने, ‘अर्थविद्हरुबाट सल्लाह लिएर उहाँले यस विषयमा एउटा विज्ञ टिम बनाउनुहुन्छ। यही टिमबाट भावी रणनीति बनाउने भन्ने छ।’

प्रधानमन्त्री दाहालले कात्तिक १५ गते पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकमा गोलमेच बैठक बोलाउने तयारी भइरहेको बताएका थिए।