काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध गतिविधि भइरहेको भन्दै त्यसप्रति सचेत हुन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताहरूको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री दाहालले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी लगायत दलको बैठक राखेर गणतन्त्र प्रतिकुलका गतिविधि हुन थालेकाले त्यसप्रति सचेत हुन आवश्यक रहेको बताएका हुन्। जनतामा देखिएको असन्तुष्टिमा खेलेर अराजकता फैलाउने प्रयास भइरहेको बताए।
त्यसपछि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले दाहाललाई व्यवस्थाविरुद्ध गतिविधि भइरहेको हो भने सरकारले किन नियन्त्रणको कदम नचालेको भनी प्रश्न गरे। ‘व्यवस्थामाथि खतरा उत्पन्न भएको हो?,’ ओलीले सोधे। उनले सरकारको अकर्मण्यताका कारण अराजकता बढेको बताए।
ओली पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौलासहित बैठकमा पुगेका थिए। दाहालले खतरा उत्पन्न नभएको तर सचेत हुन आवश्यक रहेको जवाफ दिए।

बैठकमा सहभागी लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लले जनतामा बढेको असन्तुष्टि सम्बोधनका लागि सरकारले काम गरेर देखाउनुपर्नेमा नेताहरुले जोड दिएको जानकारी दिए। ‘सुशासन कायम गरी सेवा प्रवाहमा सुधारका साथै जनजीविकामा परिवर्तन ल्याउने खालको कदम चाल्ने हो भने असन्तुष्टि मत्थर भएर जान्छ। कसैले खेल्न सक्दैन भन्ने बैठकको निष्कर्ष रह्यो,’ शुक्लले भने।










