थाइ एयरवेजको जहाज तीन वर्षपछि पुन: काठमाडौंमा‚ थाइ स्माइलको उडान भने बन्द

बिजमाण्डू
२०८० कात्तिक १२ गते १५:२० | Oct 29, 2023
थाइ एयरवेजको जहाज तीन वर्षपछि पुन: काठमाडौंमा‚ थाइ स्माइलको उडान भने बन्द

काठमाडौं। थाइ एयरवेजले आइतबारदेखि काठमाडौंका लागि नियमित उडान पुनः सुरु गरेको छ। कम्पनीले योजनाअनुसार तीन वर्षपछि पुनः नेपालतर्फ नियमित उडान सुरु गरेको हो।

GBIME
Tata

कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा शुल्कबापत ४६ लाख रुपैयाँ बुझाउन बाँकी थियो। उक्त रकम बुझाएसँगै नियमित उडान सुरु गरेको हो।

‘थाइ एयरलाइन्सले साताको सातै वटा उडानको स्लट पाएको छ। कम्पनीको सबै प्रक्रिया पुरा भएपछि हामीले आजबाट विन्टर सेडुल अन्तर्गतको उडान अनुमति दिएका हौं‚’ नागरिक उड्‍डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘यो कम्पनीअन्तर्गत पछिल्लो ३ वर्ष काठमाडौंतर्फ उडान संचालन गर्दै आएको थाइ स्माइलले भने आफ्नो सेवा बन्द गरेको छ।’

कम्पनीले आउँदो नोभेम्बर १ बाट नियमित उडान पुनः थाल्ने तयारी गरे पनि व्यावसायिक योजनाअनुसार प्राधिकरणको प्रक्रिया पुरा गरेर अक्टोबरबाटै उडान सुरु गरेको उनले बताए। कम्पनीले आफ्नो आर्थिक अवस्था पुरानै लयमा आएको भन्दै गत अगस्टमा प्राधिकरणसँग नेपाल उडानका लागि अनुमति लिने प्रक्रिया सुरु गरेको थियो।

थाइ एयरवेजले एयरबस कम्पनीको ३२० सिरिजको जहाजमार्फत उडान गर्नेछ। कोभिड संक्रमणका कारण आर्थिक संकटले गाँजिएको यो वायुसेवाको व्यवसाय लयमा फर्किएपछि नेपालतर्फ पुनः उडान सुरु गरेको हो।

आइतबारका लागि दिउँसो करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थाइको जहाज ४ बजे उडान गर्ने तालिका छ। पहिलो अवतरणमा १ सय ५० जना र उडानमा १ सय ६४ जना यात्रु रहेको जानकारी प्राधिकरणका सूचना अधिकारी भुलले दिए।

नेपालका लागि उक्त वायुसेवाको आधिकारिक जेनरल सेल्स एजेन्ट सोसाइटी ट्राभल छ। कोभिड-१९ अघि आफ्नै कार्यालयमार्फत अनलाइन टिकट बिक्री गर्दै आएको कम्पनीले नोभेम्बरदेखिको उडानका लागि सोसाइटी इन्टरनेसनललाई ‘जीएसए’ नियुक्त गरेको थियो।

यो अवधिमा कम्पनीले आफूअन्तर्गत भगिनी वायुसेवा थाइ स्माइलमार्फत उडान गर्दै आएको थियो।

‘यो सन् १९६८ मा जेट इन्जिन जहाजमार्फत नेपालतर्फ उडान गर्ने कम्पनी हो। स्थगन गरेर नियमित उडानका लागि फेरि फर्किनु मुलुकको उड्‍डयन क्षेत्रकै लागि सुखद् कुरा हो‚’ सूचना अधिकारी भुलले भने।

उनका अनुसार सन् २०२० मार्च २१ बाट कोभिडको कारण देखाउँदै उक्त वायुसेवाले नेपालतर्फको उडान बन्द गरेको थियो।