काठमाडौं। कात्तिक पहिलो साता करिब दुई लाख यात्रुले हवाई यातायात सेवा लिएका छन्। दसैं र पर्यटकीय सिजन परेका कारण एक साताको अवधिमा १ लाख ८० हजार भन्दा यात्रुले उडान सेवा लिएका हुन्।
आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा फुलपातीको दिन आउजाउ गर्ने यात्रुको संख्या अत्यधिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। अधिकांशको बिदा फुलपातीबाट हुने भएका कारण दुवै तर्फको उडानमा सो दिन यात्रुको संख्या उल्लेख्य रहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
‘विभिन्न क्षेत्रमा काम गर्दै आउनुभएका सर्वसाधारणको बिदा नै फुलपाती देखि हुने भएका कारण सोही अनुसार टिकट खरिद गरिएको पाइएको छ। उडानमा सहभागी अधिकांश चाडवाड र घुमघाम प्रयोजनका लागि रहेको देखिन्छ,’ प्रवक्ता झाले भने।

उनका अनुसार फुलपातीको दिन आन्तरिक तर्फमात्र १६ हजार ३८ यात्रुले सेवा लिएका थिए। अन्तर्राष्ट्रिय तर्फ सो दिन १७ हजार ४७१ यात्रुले सेवा लिएका थिए। सो दिन कुल ३३ हजार ५०९ जना यात्रुले उडान सेवा लिएका थिए।
कात्तिक १-७ गतेसम्म आन्तरिक तर्फको उडान अवतरण र यात्रु संख्या
| मिती | उडान अवतरण संख्या | यात्रु संख्या |
| कात्तिक १ गते | २७१ | १३६११ |
| कात्तिक २ गते | २६८ | १२८७३ |
| कात्तिक ३ गते | २८१ | १६०३८ |
| कात्तिक ४ गते | २६८ | १२५७५ |
| कात्तिक ५ गते | २७५ | ११४६५ |
| कात्तिक ६ गते | २६० | १०२४२ |
| कात्तिक ७ गते | २४२ | ११६४७ |
| जम्मा | १८६५ | ८८४५१ |
आन्तरिकतर्फ बुद्ध, यती, श्री, सौर्य, समिट, नेपाल वायुसेवा निगम, तारा, सीता लगायत वायुसेवा प्रदायक कम्पनीले सेवा दिँदै आएका छन्। यो समय काठमाडौंबाट बाहिरीने संख्या तुलनात्मक रुपमा धेरै रहँदै आएको विमानस्थल कार्यालयले जनाएको छ।

बुधबारबाट भने काठमाडौंबाट बाहिरिने भन्दा भित्रिने यात्रुको टिकट माग उल्लेख्य रहेको कार्यालयले जनाएको छ।
कात्तिक १-६ गतेसम्म अन्तर्राष्ट्रिय तर्फको उडान अवतरण र यात्रु संख्या
| मिती | उडान अवतरण संख्या | यात्रु संख्या |
| कात्तिक १ गते | ११३ | १६६३४ |
| कात्तिक २ गते | ९७ | १४६९० |
| कात्तिक ३ गते | १०५ | १७४७१ |
| कात्तिक ४ गते | ११२ | १६६१२ |
| कात्तिक ५ गते | १०३ | १३६८० |
| कात्तिक ६ गते | १०५ | १३२१७ |
| जम्मा | ६३५ | ९२३०४ |
अन्तर्राष्ट्रियतर्फ नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर इण्डिया, भिस्तारा, इण्डिगो, कतार एयरवेज, मलेसियन एयरलाइन्स, एयर अरेबिया, मालिन्दो, जजिरा, चाइना सदर्न, चाइना इस्टर्न, क्याथे प्यासिफिक, भुटान एयरवेज, ड्रुक एयर, एयर चाइना, सिंगापुर एयरलाइन्स, श्रीलंकन एयर, टर्कीस एयरलाइन्स, फ्लाइ दुबई लगायतले नियमित उडान गर्दै आएका छन्।

यो समय विशेष गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र वैदेशिक रोजगारबाट दसैंकै लागि स्वदेश फर्कने नेपालीको माग उल्लेख्य रहेको विमानस्थल कार्यालयले जनाएको छ।










