दोलखा सुन प्रकरण : काठमाडौंमा अवैध सुन किन्ने थप एक व्यापारी समातिए



बिजमाण्डू
२०८० कात्तिक २ गते ११:१४ | Oct 19, 2023
दोलखा सुन प्रकरण : काठमाडौंमा अवैध सुन किन्ने थप एक व्यापारी समातिए

काठमाडौं । दोलखा सुन प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले केही दिनअघि एक सुनचाँदीको व्यापारीलाई पक्राउ गरेको हो। रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपानेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

न्यौपानेले चीनबाट दोलखा हुँदै आएको अवैध सुन किन्ने गरेको अनुसन्धानमा खुलेको छ।

‘१०/१२ किलोसम्म अवैध सुन किनेको देखिएकाले नियन्त्रणमा लिएको हो,’ सीआइबी स्रोतले भन्यो।

यसअघि ब्यूरोले काठमाडौंको महाजगञ्जबाट सुन पसल सञ्चालन गर्ने तिलक विकलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले असोज १० गते राति बिगु गाउँपालिका वडा नम्बर ३ जामुने स्थित सिता तामाङको घरमा बस्ने केशर तामाङ डेराबाट चार किलो सुन बरामद गरेको थियो। त्यसपछि बिगु गाउँपालिका बस्ने पेम्बा तामाङ, माधब मगर, काठमाडौं रामहिटी बस्ने नुर्वु छिरीङ शेर्पा, सुनमाला तामाङ, बिगु गाउँपालिका १ बस्ने चस्मान तामाङ, १७ वर्षको नाबालकलाई प्रहरीले पक्राउ गरेको थियो।

त्यसको दुई दिनपछि लामाबगर स्थित आङफुर्वा शेर्पाको वारीमा ढुङ्गा मुनी लुकाई छिपाई राखेको अवस्थामा थप चार किलो सुन भेटिएको थियो।

दोलखा प्रहरीसँगै सीआइबीले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ। अनुसन्धानका लागि सीआइबीबाट दुई प्रहरी निरीक्षक सहितको टोली दोलखा पुगेको छ।