प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने गगनको दाबी, तर शशांक-शेखर भन्छन् : पाँच वर्ष टिक्छ



बिजमाण्डू
२०८० भदौ ३१ गते १३:१३ | Sep 17, 2023
प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने गगनको दाबी, तर शशांक-शेखर भन्छन् : पाँच वर्ष टिक्छ

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गत पुस ११ गते नयाँ सरकार बन्यो। सुरुमा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले फागुनमा सारथी फेरे। कांग्रेस, जनता समाजवादी पार्टीलगायतको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकार बेला बेला संकटमा परिसकेको चर्चा चल्छ।

Tata
GBIME
Nepal Life

प्रमुख सत्ता साझेदार कांग्रेसका नेताहरुले नै बेलाबेला यो सरकार चाँडै ढल्ने बताउँछन्। एमालेसँग सहकार्य गरी कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने प्रयास भएको हल्ला पनि बेलाबेला चल्ने गर्छ। प्रधानमन्त्री दाहालले बेला-बेला विभिन्‍न मञ्‍च पुगेर आफ्नो सरकार ढाल्न लागिपरेको भनाइबाट यो पुष्टि हुने बताउँछन्।

पछिल्लो पटक कांग्रेस महामन्त्री गगन थापाले पनि सरकारको नेतृत्व चाँडै परिवर्तन हुने दाबी गरे। गत बुधबार पोखरामा पार्टीको महानगर सम्मेलनमा उनले केही समयमै कांग्रेसको नेतृत्वमा सरकार बन्‍ने दाबी गरेका हुन्।

२०८४ सालको निर्वाचनलाई लिएर कांग्रेसका नेता कार्यकर्ता चिन्तित नहुन आग्रह गर्दै गगनले भनेका थिए, ‘अब केही दिनपछि हप्तापछि, नभए महिनापछि संघको प्रधानमन्त्री कांग्रेस। सबै प्रदेशको मुख्यमन्त्री कांग्रेस अनि ८४ मा चुनाव हारिन्छ भनेर रुवाबासी, रुवाबासी?’

शेखर-शशांकको शंका : यस्तै हो भने पाँच वर्ष प्रचण्डकै सरकार

कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइरालाले भने अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन्। आइतबार चितवन पुगेका उनले सञ्‍चारकर्मीसँग सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन्।

‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ‚’ उनले भने। सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै कोइरालाले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए।

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसंग उल्लेख गर्दै उनले प्रचण्ड साधारण व्यक्ति नभएको तर्क गरे। एमाले र माओवादी केन्द्रबीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएकोसमेत उनले बताए।

कांग्रेसका अर्का नेता डा. शेखर कोइराला पनि कांग्रेसको पारा यही हो भने पाँच वर्ष प्रचण्डकै नेतृत्वमा सरकार चल्ने बताउँछन्। भदौ २२ गते नयाँ बानेश्‍वरमा अनौपचारिक छलफलमा डा. शेखरलाई ‘तपाईंको नेतृत्वमा सरकार बन्दैछ भन्‍ने चर्चा छ नि’ भनी प्रश्‍न सोधिएको थियो।

उनको जवाफ थियो- मलाई लाग्दैन अहिले नै सरकारको नेतृत्व फेरिन्छ भनेर। धेरै सजिलो छ कांग्रेसकै कारण। यस्तै हो भने प्रचण्ड नेतृत्वको सरकार पाँच वर्ष जान्छ।