सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ: चीनसँग नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुन्छ



बिजमाण्डू
२०८० भदौ १२ गते ११:३३ | Aug 29, 2023
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ: चीनसँग नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुका प्रश्‍नको जवाफ दिंदै। फोटो : प्रदीप राज वन्त।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरी छिमेकी चीनसँग नयाँ नाका खोल्ने विषयमा छलफल हुने बताएका छन्। प्रधानमन्त्री दाहालले मंगलबार प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद उदयशमसेर राणाले सोधेको प्रश्‍नमा अहिले सञ्‍चालनमा रहेका नाका प्रभावकारी बनाउने र नयाँ नाका खोल्ने विषय आफ्नो एजेण्डामा रहेको बताएका हुन्।

Tata
GBIME
Nepal Life

चीनसँगका मुख्य दुई व्यापारिक नाका रसुवागढी र तातोपानी हुन्। तातोपानी नाका २०७२ वैशाखको भूकम्पपछि खासै सञ्‍चालनमा छैन भने रसुवागढी नाका पनि सहजरुपमा सञ्‍चालन नहुँदा व्यापारीहरुले निकै सास्ती झेल्दै आएका छन्। यसबारे व्यापारीहरुले पटक-पटक सरकारको ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन सकेको छैन।

प्रधानमन्त्री दाहाल असोज पहिलो साता चीन भ्रमणमा जाँदैछन्। उनलाई कांग्रेस सांसद राणाले तपाईँको चीन भ्रमणका प्राथमिकता र एजेण्डा के-के हुन्? भनी सोधेका थिए। प्रधानमन्त्री दाहालले दुई देशको सम्बन्ध थप उचाइमा पुर्‍याउने विषयमा आफ्नो भ्रमण केन्द्रित रहने र यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिने बताए।

अर्का सांसद ऐनबहादुर शाही ठकुरीले सोधेको प्रश्‍नको जवाफ दिने क्रममा दाहालले नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुरा गर्ने निश्‍चित भएको बताए। सांसद ठकुरीले मुगुको लाग्चेलाग्‍ना नाका खोल्ने विषय एजेण्डामा छ कि छैन भनी सोधेका थिए? प्रधानमन्त्रीले यो नाकाको विषय पनि चिनियाँ अधिकारीहरुसँग उठाउने जवाफ दिए।