टाटाले गर्‍यो एक लाख इभी उत्पादनको माइलस्टोन पार, नौ महिनामै ५० हजार बिक्री

बिजमाण्डू
२०८० साउन २८ गते १०:२१ | Aug 13, 2023
टाटाले गर्‍यो एक लाख इभी उत्पादनको माइलस्टोन पार, नौ महिनामै ५० हजार बिक्री

काठमाडौं। टाटा मोटर्सले उत्पादन थालेको विद्युतीय गाडी (इभी) एक लाख पुगेको छ। उत्पादनमा उक्त संख्याको ‘माइलस्टोन’ पार गरेको कम्पनीले गत शुक्रबार आफ्नो सामाजिक संजालमार्फत सार्वजनिक गरिसकेको छ।

Tata
GBIME

कम्पनीले विद्युतीय गाडीहरुमा नेक्सन धेरै बिक्री गरेको छ। नेक्सनसँगै टियागो र टिगोर इभी अहिले बजारमा बिक्री भइरहेका छन्। नेक्सन इभी नेपाली बजारमा पनि धेरै बिक्री हुने मोडल हो। टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले हालसम्म नेपालमा नेक्सन इभी मात्र ३ हजार युनिट बिक्री गरिसकेको छ।

टाटा मोटर्सको इलेक्ट्रिक डिभिजनले पाँच वर्षको अवधिमा १ लाख विद्युतीय सवारीसाधन बिक्री र उत्पादन गर्ने अविश्वसनीय उपलब्धि हासिल गरेको टाटा मोटर्स प्यासेन्जर भेहिकल र टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेश चन्द्रले बताएका छन्।

भारतमा दुई पाङ्ग्रे इलेक्ट्रिक सवारी साधन उद्योगमा स्टार्ट-अपहरू सबैभन्दा ठूलो खेलाडी भएका छन्। तर चारपाङ्ग्रे सवारी साधनमा स्थापित ब्रान्ड टाटा मोटर्सले इभीको उत्पादन र बिक्रीमा ठूलो माइलस्टोन पार गरेको उनको भनाइ छ।

उनका अनुसार टाटालाई पहिलो १० हजार इभी बिक्री गर्न लगभग ४ वर्ष अर्थात ४४ महिना लाग्यो। तर त्यसपछिका दिनहरुमा अर्को ४० हजार युनिट बिक्रीमा १५ महिना मात्र लाग्यो र बाँकी ५० हजार युनिट इभी बिक्री गर्न जम्मा ९ महिना मात्र लाग्यो।

उनले ब्रान्डको इभी व्यवसायले सोचेभन्दा बढि माग बढ्दै गएको बताए। त्यसले टाटाको इभी उत्पादन र बिक्रीमा वृद्धि हुँदै गएको उनको भनाइ छ। ‘ग्राहकहरूले इभीहरू वर्तमानको होइन, भविष्यका लागि कार भएको महसुस गरेका छन्। आज इभीको लागि ग्राहकहरुको धारणा हामीले सोचे र बुझाएको भन्दा फरक रुपमा फाष्ट परिवर्तन भएको छ,’ उनले भने।

टाटाको इभी बिक्रीमा यसरी वृद्धि हुनुमा केन्द्रीय सरकारको नीति पनि मुख्य कारण हो। सरकारले इन्धन इन्जिन सवारीमा २८ प्रतिशतको गुड्स एण्ड सर्भिस ट्याक्स (जीएसटी) लगाएको छ। तर यसको तुलनामा इभी सवारीमा भने मात्र ५ प्रतिशत जीएसटी लगाएको छ। साथै सडक र दर्ता करहरू निःशुल्क छ।  

टाटा मोटर्सले भारतीय बजारमा ८५ प्रतिशतभन्दा बढीको बजार हिस्साको साथ इभी सेग्मेन्टमा प्रभुत्व जमाएको छ। यसको पछिल्लो उत्पादन टियागो इभी लन्च भएको एक वर्षभित्र भारतमा सबैभन्दा धेरै बिक्रि हुने इभी बन्न पुगेको छ। जसले डेलिभरी सुरु गरेदेखि हालसम्म १९ हजार युनिट बेचेको छ।

टाटा मोटर्सको सफलताको कथा नेक्सन इभीको बिक्री बाट सुरु भएको हो। नेक्सन दैनिक प्रयोगको लागि पर्याप्त दायरा भएको इभी हो। यो आकर्षक पर्फर्मेन्स भएको एसयुभी बडी स्टाइलमा प्याकेज गरिएको विद्युतीय गाडी हो। जुन किफायती मूल्यमा उपलब्ध छ।

टाटा मोटर्सले नेक्सन इभी मात्र ५० हजार युनिटभन्दा बढी बिक्री गरिसकेको छ। निर्माताले नेक्सन इभी फेसलिफ्ट, ह्यारियर इभी, पञ्च इभी र कर्भ इभी एक वर्षभित्र लन्च गर्ने योजना बनाएको छ।