अन्तिम समयमा अग्रता जोगाउन नसक्दा दिल्लीसँग बराबरीमा रोकियो आर्मी, अर्को खेल चेन्नइयनसँग



बिजमाण्डू
२०८० साउन २४ गते १७:०६ | Aug 9, 2023
अन्तिम समयमा अग्रता जोगाउन नसक्दा दिल्लीसँग बराबरीमा रोकियो आर्मी, अर्को खेल चेन्नइयनसँग
तस्बिर: दिल्ली एफसी

काठमाडौं | त्रिभुवन आर्मी क्लब डुर्नाड कपको पहिलो खेलमा बराबरीमा रोकिएको छ। पहिलो हाफमा बनाएको अग्रतालाई खेलको अन्तिम समयमा जोगाउन नसक्दा आर्मी दिल्ली एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

Tata
GBIME
Nepal Life

आर्मीले खेलको ३९ औं मिनेटमा दिनेश हेन्जनको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको आर्मी दोस्रो हाफको अन्तिममा सम्हालिन नसक्दा बराबरीमा रोकिन पुगेको हो।

दिल्लीका लागि खेलको ८८ औं मिनेटमा रिबाउन्ड भएर आएको बललाई गोलको दिशा दिँदै गिरिक खोस्लाले खेल बराबरीमा ल्याएका थिए।

बराबरीसँगै लगातार दुई खेलमा अंक बाँडेको दिल्ली समूह ‘ई’ को शीर्ष स्थानमा छ। समान १ अंक जोडेका हैदराबाद एफसी र आर्मी दोस्रो र तेस्रो स्थानमा रहँदा एक खेल पनि नखेलेको चेन्नइयन एफसी चौथो स्थानमा छ।

आर्मीले दोस्रो खेलमा चेन्नइयन एफसीसँग अगस्ट १४ र हैदराबाद एफसीसँग अगस्ट २२ मा प्रतिस्पर्धा गर्नेछ।

सन् १९८८ मा सुरु भएको डुरान्ड कपलाई एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता मानिन्छ। विश्वमा भने यसलाई तेस्रो पुरानो प्रतियोगिता मानिन्छ।

प्रतियोगितामा २७ वर्षपछि भारतबाहिरका टिमले पनि सहभागिता जनाउन लागेका हुन्। प्रतियोगितामा ४३ खेल हुनेछन्। तीमध्ये ३६ वटा समूह चरणका हुन्। बाँकी क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुन्।

भारतमा बेलायती शासन हुँदा सन् १८८४ देखि १८९४ सम्म विदेश सचिवको रुपमा काम गरेका सर हेन्री मोर्टिमर डुर्नाडको नाममा प्रततियोगिता सुरु गरिएको थियो।