झाउः फ्याक्ट्रि गर्लदेखि सेल्फमेड अर्बपतीको यात्रा

बिजमाण्डू
२०७२ साउन २४ गते ००:०० | Aug 9, 2015
झाउः फ्याक्ट्रि गर्लदेखि सेल्फमेड अर्बपतीको यात्रा



झाउ कुनफेई आफ्नै मेहनतमा बनेकी विश्वकै सबैभन्दा धनी महिला । लेन्स टेक्नोलोजीकी संस्थापक झाउसँग हङकङमा दुई करोड ७० लाख डलर मुल्य पर्नेे दरवार छ । उनी आफ्नै जेटमा सिलिकन भ्याली पुग्छिन्, दक्षिण कोरियाको सिओल । जहाँ उनी आफ्ना दुई ठूला ग्राहक एप्पल र सामसङका अधिकारीहरुसँग भेट गर्छिन् । उनले चिनियाँ राष्ट्रपति सि जिङपिङलाई आफ्नै कम्पनीको हेडक्वाटरमा स्वागत समेत गरिसकेकी छन् ।
 
हाईप्रोफाइल भए पनि झाउ अधिकांश समय आफ्नै कारखानामा भेटिन्छिन् । पानीले भरिएको ट्रेमा हात डुबाउँछिन् र पत्ता लगाउँछिन् पानीको ताप ठीक छ कि छैन् ? पोटासियम आयनमा तातो शिशा हाल्दाको परिणाम व्याख्या गर्न सक्छिन् । उनी प्राविधिकलाई चेम्वरबाट एक छिन बाहिर निस्कन आग्रह गर्छिन, र उसको स्थानमा बसेर काम गर्छिन् ।
 
झाउलाई शिशाका विषयमा धेरै जानकारी छ, किनकी कयौं वर्ष उनी यस्तै कारखानाकी मजदुर थिइन् । उनी त्यसैमा काम गरेर मध्य चीनको एउटा गाउँमा हुर्किएकी हुन् । 
 
‘कहिलेकाहीं उनी कारखानामा अपरेटरले झैं काम गर्न बस्छिन् र हेर्छिन् कतै काममा गल्ती भएको त छैन्’, लेन्स टेक्नोलोजीका महाप्रबन्धक जेम्स झाओले भने, ‘यसले कहिले काहिं मलाई अफ्ठ्यारो पारिदिन्छ । केही समस्या छ भने उनी भन्छिन्, किन तिमीले हेरेनौ ?’
 
लेन्स टेक्नोलोजी अहिले विश्वको सबैभन्दा ठूलो ‘कभर ग्लास’ उत्पादक हो, यसको उत्पादन ल्यापटप, ट्यावलेट र मोवाइल फोन डिभाइसमा प्रयोग हुन्छ । उनले उत्पादन गर्ने ‘ग्लास’ एप्पलको आइफोन र सामसङ ग्यालेक्सीमा पनि प्रयोग हुन्छ । यो वर्ष झाउको कम्पनीले एक अर्ब शिशाको स्क्रिन उत्पादन गर्ने अपेक्षा गरिएको छ । यी शिशाको प्रत्येक मिलिमिटरलाई रिफाइन गरिएको हुन्छ ।
 
यो यस्तो उद्योग हो, जहाँ उच्च प्रविधि आवश्यक पर्दछ, आईएचएस टेक्नोलोजीका विश्लेषक स्टोन वु भन्छन् । तपाईंसँग रुरल छ भने हेर्नुहोस त्यो ०.५ मिलिमिटर छ भने कति पातलो हुन्छ, तपाईंले बुझ्नुहुनेछ यति धेरै पातलो वस्तु उत्पादन गर्न कति कठिन छ भन्ने ।
 
शुन्यबाट साम्राज्य
विश्वको सबैभन्दा ठूलो वितरण कम्पनी निर्माण गरेकी झाओ(४४)लाई चीनमा नयाँ पुस्ताकी महिला उद्यमी हुन्, जसले आफ्नो पुँजी झण्डै शुन्यबाट बढाउँदै लगिन्, यस्तो सफलता विश्वमा विरलै व्याक्तिले पाउँछन् ।
उद्योगमा काम गर्दाको परिचयपत्र
जापान जहाँ आफैले बनाएको पुँजीबाट अर्वपती भएका महिला छैनन्, फोब्र्सका अनुसार अमेरिका र युरोपमा पनि अधिकांश महिला जो अर्बपती छन्, उनीहरुले पुस्तौनी विरासत सम्पत्ति प्राप्त गरेका हुन् ।
 
चीनमा आफैले सिर्जना गरेको पुँजीबाट अर्वपती बन्ने महिला जति छन्, अन्त कहिं छैनन् । माओको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीले सुरु गरेको लैंगिक समानताले पुँजी निर्माणमा महिलालाई फक्रन मद्दत गर्यो । एमआईटिका प्राध्यापक हुङ यासेङ भन्छन्, माओले सुरु गरेको सुधारले चीनमा केही स्थापित महिला उद्यमीहरु जन्मायो । सन् १९९० मा जब चीनको अर्थतन्त्रले गति समात्यो त्यो बेला उनीहरुले पुँजी निर्माण सुरु गरे ।
 
लेन्स टेक्नोलोजी यो वर्ष पुँजी बजारमा सूचिकृत भयो, यसबाट झाउको सात अर्ब २० करोड डलरको सम्पत्ती पुँजीकरण भएको छ । यो पुँजी मेडिया टाइकुन भनेर चिनिने जोन सि मेलोनो र इबेका संस्थापक पिएरे अमिदयारको बराबर हो । 
 
झाउ इकमर्श जायन्ट अलिबाबाका संस्थापक ज्याक मा जस्तै चीनमा सेलिब्रेटी पनि छैनन् । लेन्स टेक्नोलोजी यो वर्ष पब्लिकमा जानु अघि झाउलाई चीनमा कमै मात्रैले चिन्थे । उनी कमै मात्र अन्तवार्ता दिन्छिन्, सार्वजनिक जीवनमा पनि त्यति धेरै देखा पर्दिनन् । उज्यालो मुहार, आँखामा चस्मा, क्रिस्टियन डायरको सुट लगाएकी झाउलाई तुरुन्तै कामको परिणाम चाहिन्छ ।
 
म हुर्केको गाउँ जहाँ धेरै युवतीलाई मिडल स्कुल जाने सुविधा थिएन्, उनीहरु विवाह बन्धनमा बाँधिन्थे र सारा जीवन गाउँमा बिताउँथे, न्युयोर्क टाइम्सलाई आफ्नै कार्यालयमा दिएको अन्तर्वार्तामा उनले भनिन् । जहाँ माओको काठको मुर्ति र २७ इन्चको म्याक डेक्सटप थियो । मैले व्यापार रोजें र यसमा पछुताउनु परेको छैन्, उनले थपिन् । 
 
तीन वटा छोरीमध्ये कान्छी झाउ हुनान प्रान्तको एउटा सानो गाउँमा जन्मिइन् । किसानको घरमा जन्मेकी उनको त्यो गाउँमा जान हुनानको राजधानी चाङ्साबाट दुई घण्टा लाग्छ । उनी पाँच वर्षकी हुँदा आमा वितिन् । काठमा कला भर्ने उनका बाबुको औद्योगिक दुर्घटनामा एउटा औंला गुम्यो, सँगै आँखाको ज्योती पनि ।
 
स्कुलबाट बचेको समयमा परिवारलाई सघाउन उनले सुँगुर हुर्काइन्, हाँस पालिन् । उनको मिडिल स्कुलका शिक्षक झोङ जाओबी भन्छन्, उनी विद्यालयमा पनि कडा मिहिनेत गर्थिन र क्षमतावान पनि थिइन् । कक्षामा मैले एक पटक झाओको ‘मेरी आमा’ शीर्षकको निवन्ध चर्को स्वरमा पढें, यो यति शक्तिशाली थियो, सबैको आँखामा आँसु थिए ।
 
विद्यालबाट सिधै कारखाना
शिक्षामा मेहनत गर्दागदै पनि १६ वर्षको उमेरमा झाउले विद्यालय छाड्नु पर्यो ।  त्यहाँबाट उनी काकाको परिवारसँग बस्न दक्षिणको ग्वाङझाओ प्रान्तमा आइपुगिन्, जहाँ उनले राम्रो कामको खोजी पनि गर्नुथियो । झाउ फेसन डिजाइनर बन्न चाहन्छिन्, तर उनी औद्योगिक क्षेत्र सेन्झेनको एउटा कारखानामा आइपुगिन् । जहाँ उनले घडिका लागि लेन्स बनाउनु पर्दथ्यो, जसबाट दैनिक एक डलर कमाउँथिन् । 
 
कारखानामा काम गर्ने वातावरण थिएन, झाउले भनिन्, कति समय मैले बिहान ८ बजेदेखि राती १२ बजेसम्म काम गरें, कतिसमय बिहान दुई बजेसम्म । त्यहाँ काम गर्ने सिफ्ट थिएन, झण्डै एक दर्जन कामदार थिए, शिशामा पोलिस लगाउँदा मैले कुनै खुशी महसुस गर्न सकिन ।
 
तीन महिनापछि उनले जागिर छाड्ने निर्णय गरिन्, हाकिमलाई राजीनामा पत्र लेखिन् । राजीनामामा उनले काम गर्ने अवधि र त्यसमा उत्साह नहुँदाको अवस्था वारे व्याख्या गरेकी थिइन् । उनले जागिरका लागि धन्यवाद दिएकि थिइन्, लेखेकी थिइन्, म अझ बढी जान्न चाहन्छु ।
 
राजीनामा पत्रले कारखाना प्रमुख प्रभावित भए । उनले झाउलाई कारखानामा नयाँ प्रक्रिया थाल्ने आश्वासन दिएर राजीनामा फिर्ता लिन आग्रह गरे र बढुवा पनि गर्ने प्रतिवद्धता जनाए । त्यसपछिका तीन वर्ष उनले त्यही कारखानामा विताइन् । 
 
सन् १९९३ मा झाउ २२ वर्षकी भएकी थिइन्, उनले आफ्नै कारखाना खोल्ने निर्णय गरिन् । त्यसका लागि उनीसँग तीन हजार डलर बचत थियो । उनी र उनका थुप्रै आफन्त मिलेर अर्को कारखाना खोले । उनीहरुले अझ उच्च गुणस्तरका घडीका लेन्स बनाइदिने आश्वासनमा काम सुरु गरेका थिए ।
 
नयाँ कम्पनीमा पनि झाउले त्यो सबै गरिन्, जुन उनले गर्दै आएकी थिइन् । कारखानाका मेशिन मर्मत गरिन् र त्यसको नयाँ डिजाइन पनि तयार गरिन् । उनले स्क्रिन प्रिन्टिङको जटिल प्रविधि पढ्न थालिन् । यसले उनलाई घुमाउरा शिशा उत्पादनमा सहयोग पुर्यायो ।
 
निडर झाउ
हुनान भाषामा हामी यस्ता महिलालाई बा डे मान भन्छौं, यसको अर्थ अरु जे काम गर्न डराउँछ, त्यो काम झाउ गर्थिन्, उनका भतिजा झाओ जिनयीले भने । जीयनी लेन्स टेक्नोलोजी खोल्न सघाउनेमध्येका एक थिए, उनी अहिले कम्पनीको बोर्डमा पनि छन् । 
 
यही बीचमा झाउले पुरानो कम्पनीका हाकिमसँग बिहे गरिसकेकी थिइन्, एउटा बच्चा जन्माएपछि उनले ती व्यक्तिसँग डिभोर्स गरिन् । पछि उनले काराखानामा सँगै काम गर्ने साथीसँग बिहे गरिन्, उनी पनि अहिले लेन्स टेक्नोलोजीको बोर्डमा छन् । उसँग उनको दोश्रो सन्तान जन्मिएको छ । 
 
अर्बपतीको यात्रा
झाउ जसलाई मोवाइल फोनले अर्बपती बनायो । 
 
सन् २००३, यतिबेला पनि झाउ घडिका लागि शिशा बनाइरहेकी थिइन् । एक दिन उनलाई फोनमा कल आयो । यो कल मोटोरोला कम्पनीका कार्यकारीको थियो । उनको प्रश्न थियो, हामी रजार भि थ्री मोवाइल बनाउँदैछौं, के तपाईं त्यसका लागि स्क्रिन बनाउन सक्नुहुन्छ ?
 
त्यतिवेलासम्म मोवाइल फोनका डिस्प्ले स्क्रिन प्लाष्टिकबाट बन्ने गर्दथ्यो । मोटोरोला त्यसमा शिशा चाहन्थ्यो । यसबाट मोवाइल स्क्रिनमा स्क्रयाच कम हुने तथा तस्वीर, अक्षरको गुणस्तर राम्रो हुन्थ्यो ।
 
मैले फोन उठाएँ, उनीहरु जवाफ हुन्छ वा हुँदैनमा चाहन्थे । यदि जवाफ हुन्छ भन्ने हो भने हामी पनि सघाउँछौं । झाउले पुरानो दिन सम्झिइन्, मैले जवाफ दिएँ, हुन्छ ।
 
त्यसपछि उनलाई एचटिसि, नोकिया र सामसङबाट पनि अर्डर आउन थाल्यो । 
 
सन् २००७ मा पहिलोपटक एप्पल आईफोनमार्फत मोवाइल बजारमा प्रवेश गर्दै थियो । आइफोन ग्लासमा टच गर्न मिल्ने किबोर्डसहित मोवाइल उद्योगमा नयाँ नियम बनाउँदै थियो । एप्पलले पनि लेन्स टेक्नोलोजीलाई स्क्रिनका लागि सप्लायर छान्यो । यसपछि झाउको कम्पनी कसैले पराजित गर्न नसक्ने मसिहा बन्यो ।
अपार्टमेन्ट समेत धिताेमा
यसपछि झाउले नयाँ प्रविधि विस्तारका लागि ठूलो रकम लगानी गरिन्, उत्कृष्ट प्राविधिकहरुलाई जागिर दिन थालिन् । उनले आफू बस्दै आएको अपार्टमेन्ट समेत बैंकबाट ऋण लिन धितो राखेकि थिइन् । पाँच वर्षमा उनले तीन शहरमा ठूला तीन वटा कारखाना लगाईन् ।
 
उनी एउटा धैर्यशील उद्योगपति हुन्, लेन्स टेक्नोलोजीको साझेदारीमा खुलेको कम्पनी कोर्निङका कार्यकारी जेम्स होलीसले भने । मैले उनको कम्पनीको वृद्धि देखेको छु, र उनले बलियो टीम बनाएकी छन् । यो उद्योगसँग अहिले झण्डै सय कम्पनी प्रतिश्पर्धी छन् तर लेन्स टेक्नोलोजी पहिलो टायरको खेलाडी हो ।
 
लेन्स टेक्नोलोजी २४ सै घण्टा सञ्चालन हुन्छ । यसमा ७५ हजार कामदार छन् । चाङसु क्षेत्र जहाँ झाउको जन्म भएको थियो, त्यहाँ उनको उद्योग आठ सय एकड जमिनमा फैलिएको छ । हरेक दिन लेन्सले अमेरिकाको कोर्निङ र जापानको आसाही ग्लासबाट ठूला ठूला सिपमेन्ट प्राप्त गर्छ । 
 
ठूला शिशालाई साना टुक्रामा काटिन्छ, त्यसलाई घोटिन्छ र चम्काइन्छ । पारदर्शी यी शिशालाई पोटासियम आयनमा डुबाइन्छ, रंग पोतेपछि, त्यसलाई धोइन्छ । नकोतर्ने तथा रिफ्लेक्सन नहुने फिल्म लगाइन्छ । 
 
फक्सकन जस्तै गरी लेन्समा अहिलेसम्म मजदुरबाट समस्या भोग्नु परेको छैन्,तर अहिले र भूतपूर्व कर्मचारीहरु लेन्सको काम चुनौतीपूर्ण भन्छन् । लेन्समा धेरै युवतीले गर्छन, उनीहरुको काम विभिन्न कोणबाट शिशाको परीक्षण गरेर कमेजोरी पत्ता लगाउने हुन्छ । 
 
प्रतिश्पर्धामा के हुन्छ ?
लेन्स टेक्नोलोजी यही मार्च महिनामा पब्लिकमा गएको थियो, जतिवेला चिनियाँ स्टक मार्केट बुममा थियो । हालै बजार खस्किदा कम्पनीले मूल्यका हिसावले ४५ प्रतिशत गुमायो । तर पनि कम्पनीको बजार पुँजीकरण अझै आठ अर्ब डलर छ ।
 
गतवर्ष कम्पनीले दुई अर्ब ४० करोडको कारोवार गर्यो । पहिलो त्रैमासमा नाफा ४० प्रतिशत बढेको छ । तर लेन्सका लागि प्राप्त हुने ७५ प्रतिशत आम्दानी दुई कम्पनी एप्पल र सामसङबाट प्राप्त हुन्छ । कम्पनी पब्लिकमा गएपछि मे महिनामा पहिलोपटक सेयरहोल्डर बैठक बस्यो । त्यहाँ लेन्सले प्रतिश्पर्धी बजारमा कसरी अघि बढ्छ भनेर प्रश्नहरु तेर्साइए । 
 
कम्पनीका थुप्रै कार्यकारीले प्रश्नको अनेक कोणबाट जवाफ दिए । त्यसपछि झाउले बोल्न थालिन् । उनले भनिन्, हामी कम्पनीको कामलाई विविधीकरण गर्दै छौं । हामी अझ उच्च गुणस्तरका शिशामा काम गर्दैछौं ।
 
बैठक सकियो, लगानीकर्तालाई बसमा हालेर झाउसँगै लेन्सको क्याम्पस पुर्याइयो । जुन क्याम्पस बैठकस्थलबाट एक माइल टाढा थियो । झाउ जहाँ दिनभरीको लगानीकर्ताको बैठकमा चुप बसेकी थिइन्, त्यहाँ उनी अर्कै फुर्तीसहित प्रस्तुत भइन् । उनका हरेक शब्दमा लगानीकर्ता आश्चर्यचकित भएर हेर्न थाले ।
 
डेभिड बार्बोजा/न्युयोर्क टाइम्स

Tata
GBIME
NLIC