काठमाडौं। ललिता निवास प्रकरणमा पक्राउ परेका केही व्यक्तिले दिएको बन्दीप्रत्यक्षीकरण निवेदन माथि बहस नसकिएपछि मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ।
मंगलबार दिनभर सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा बहस भएको थियो। सोमबार बहस नसकिएपछि मंगलबारलाई हेर्दाहेर्दैमा राखिएको थियो। आज पनि बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो। अब बुधबार बहस हुनेछ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको थियो। राउतका परिवारका सदस्यले पनि बन्दीप्रत्यक्षीकरण निवेदन दिएका थिए। ललिता निवास जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले सचिव राउतलाई असार २० गते पक्राउ गरेको थियो।
त्यस्तै, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमको निवेदनमा पनि ढुंगाना र सुवेदीको इजलासमा बहस भएको थियो।
प्रहरीले विभिन्न ४ वटा मुद्दामा ४ सय ६ जनालाई फरार प्रतिवादी बनाएको छ। प्रहरीले मुद्दा नम्बर २४ मा जग्गा फिर्ता गरेकामध्ये २ सय ९ जनाको पक्राउ पुर्जी समेत लिइसकेको छ। अहिलेसम्म यस प्रकरणमा व्यापारी, कर्मचारी र बिचौलिया गरेर १८ जनालाई पक्राउ गरिसकेको छ।










