जब सुरक्षा गार्डले एउटा भेपबाटै कमाए १ लाख १२ हजार…! ‘चोरमाथिको चकार’



सविन ढकाल
२०८० असार २७ गते १९:५७ | Jul 12, 2023
जब सुरक्षा गार्डले एउटा भेपबाटै कमाए १ लाख १२ हजार…! ‘चोरमाथिको चकार’

काठमाडौं। गत पुस २९ गते विदेशबाट विद्युतीय चुरोट (भेप)भित्र सुन राखेर तस्करी भएको घटनाको प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ। प्रहरीले घटनामा ९ जनालाई प्रतिवादी बनाएको छ, जसमा ३ जना फरार रहेको उल्लेख गरिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले भन्सारका नासु रेवन्त खड्कालाई नियन्त्रणमा लिएपछि घटना बाहिरिएको थियो। त्यस्तै प्रकृतिको घटनामा जोडिएका अन्य ५ जनालाई पनि पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा भन्सारका सुरक्षा गार्ड निर्मल विक, अमृत कार्की, दिनेश बस्नेत र अन्य दुई जना सुन व्यापारी साहेव राउत र देव विक्रम रहेका छन्।

छब्बीस वर्षीय नासु खड्का ४ वर्ष अघिमात्र सेवा प्रवेश गरेका थिए। एक वर्ष अघि उनी भन्सार कार्यालय पुगेका थिए। उनकै सहयोगमा भन्सार कार्यालयले जफत गरेको भेपभित्र लुकाइएको सुन बाहिरिएको थियो। भन्सार कार्यालयको मुद्दा शाखामा गत माघ २९ गते दर्ता भएको पत्र अनुसार दुईवटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप भित्रिएका थिए। जसमा करिब ९ किलो सुन राखिएको थियो।

भन्सार कार्यालयले धेरै सङ्ख्यामा भेप आएपछि जफत गरेको थियो। तर, त्यसभित्र रहेको सुन भएको भेपको सट्टा नासु खड्काले सुन नभएको भेप ‘रिप्लेस’ गरेर बाहिर लगेका थिए। डेढ महिनापछि स्टोरमा गएर हेर्दा सामान नै साटिएको थियो। घटनामा भन्सार कार्यालयले नासुको संलग्नता देखिएपछि प्रहरीलाई अनुसन्धानका लागि पत्राचार भएको थियो। उक्त अनुसन्धानकै आधारमा ६ जना समातिएका हुन्।

अनुसन्धान सकेर फाइल बुझाएको व्यूरोका एसपी सञ्जयसिंह थापाले बताए। सीआईबीले अनुसन्धान गर्दा स्टोरमा रहेको भेप नासु खड्काले साटफेर गरेको खुलेको थियो। गायव पारिएको सुन बजारमा लगेर बेचिएको प्रहरी अनुसन्धानमा खुलेको छ। यस प्रकरणमा प्रहरीले सुन चाहिँ एक सय ग्राममात्र बरामद गरेको थियो। अहिलेसम्म प्रहरीले उनीहरुको साथबाट १ करोड ३१ लाख ५७ हजार रुपैयाँ जफत गरिसकेको छ।

जब भन्सारका गार्डले भेपमा सुन छ भन्ने थाहा पाए…

प्रहरीको हिरासतमा रहेका निर्मल विक भन्सार कार्यालयका सुरक्षा गार्ड हुन्। चिनियाँ नागरिकबाट कार्यालयले जफत गरेको भेपभित्र सुन लुकाइएको सुरुमै विकले थाहा पाएका थिए। त्यसपछि उनले एउटा भेप निकाले। त्यसभित्रको सुन झिके। र, बजारमा लगेर बिक्री गरे। एउटा भेपबाट निकालिएको सुनबाटै उनले १ लाख १२ हजार रुपैयाँ पाएको प्रहरी अनुसन्धानमा खुलेको छ।

पहिलो प्रयास नै सफल भएपछि सुरक्षा गार्ड विक थप उत्साही भएको देखिन्छ। त्यसपछि उनले ४० वटा भेपबाट सुन निकालेर बेचे जसबाट ४४ लाख रुपैयाँ कमाए। त्यसपछि भने एकाएक सुनको भेप नै गायव भयो। पक्राउ परेका दिनेश बस्नेतको योजनामा नासु खड्काले सुनको भेप विमानस्थलबाट बाहिर पुर्‍याएको प्रहरीको दावी छ।

पक्राउ परेका दिनेश सुन कारोबारीको ‘एजेन्ट’ भएको खुलेको छ। भेपभित्र ९ किलो सुन रहेको प्रहरीको दावी छ। उनीहरुले बिक्री गरेको सुनले भक्तपुरको थिमिमा जग्गा किनेको देखिएको छ। उनीहरुले १३०  वर्गफिट (चार आना) जग्गा किनेको देखिएको छ। जग्गा भने अमृत कार्कीको नाममा किनिएको छ।

प्रहरीले उनीहरू विरुद्ध अपराध संहिता २०७४ को दफा २५२ अनुसार आपराधिक विश्वासघात गर्न नहुनेमा मुद्दामा टेकेर सजाय माग गरेको छ। यसमा कसुर पुष्टि भए कर्मचारीको हकमा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवा र अन्यको हकमा तीन वर्ष कैद र ३० हजार वा दुवै जरिवाना हुनसक्नेछ।