गुप्तचर विभागले ७१ कर्मचारी भर्ना गर्दै, अधिकृत र सहायकको दरखास्त खुला



बिजमाण्डू
२०८० असार २ गते १३:३६ | Jun 17, 2023
गुप्तचर विभागले ७१ कर्मचारी भर्ना गर्दै, अधिकृत र सहायकको दरखास्त खुला

काठमाडौं। सरकारी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागले कर्मचारी भर्ना गर्ने भएको छ। अधिकृत र सहायकस्तरका दुई पदमा ७१ जना कर्मचारीका भर्ना गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

३० जना अनुसन्धान अधिकृत र ४१ जना अनुसन्धान सहायक मागेको विभागले भर्ना भने लोकसेवा आयोगले लिने परीक्षामार्फत गर्ने जनाएको छ।

नेपाल विशेष सेवाको राजपत्रांकित तृतीय र द्धितीय श्रेणीमा लिइने भर्नामा दरखास्त दिनेले लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा दिनुपर्ने छ।

अधिकृतका लागि कम्तीमा स्नातक वा सो सरहको शैक्षिक योग्यता तोकिएको छ। ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेकाको हकमा ‘जीपीए २’ वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्ने छ। २१ पुरा भइ २५ वर्ष ननाघेको उमेर निर्धारण गरिएको छ।

अनुसन्धान सहायकका लागि कम्तीमा १२ कक्षा र ‘जीपीए २’ वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्ने तोकिएको छ। उमेर १८ पुरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने शनिवार जारी सूचनामा उल्लेख छ।

योग्यता पुगेका इच्छुकले राष्ट्रिय अनुसन्धान विभागको बेवसाइटमा लगइन गरी दरखास्त दिन सकिने जनाइएको छ। अनलाइनबाट फाराम भरेपछि स्वीकृतका हकमा परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने सूचनामा उल्लेख छ। दरखास्त दस्तुर अधिकृतका लागि एक हजार रुपैयाँ र अनुसन्धान सहायकका लागि ३ सय रुपैयाँ छ।