दोलखाको गौरीशंकरमा ६.२ मेगावाटको लोवर खानी-बी आयोजना निर्माण हुने, २०८३ पुसबाट उत्पादन

बिजमाण्डू
२०८० जेठ १० गते ०८:३८ | May 24, 2023
दोलखाको गौरीशंकरमा ६.२ मेगावाटको लोवर खानी-बी आयोजना निर्माण हुने, २०८३ पुसबाट उत्पादन


काठमाडौं। दोलखामा एउटा जलविद्युत आयोजना थपिने भएको छ। कोप्लाङ इनर्जी हाइड्रोपावर प्रालिले ६.२ मेगावाटको लोवर खानी-बी जलविद्युत आयोजना निर्माण अघि बढाउने तयारी गरेको छ।

Tata
GBIME
NLIC

प्रस्तावित आयोजनाले दोलखाको गौरीशंकर गाउँपालिका भएर बग्ने खानी खोलाको पानी उपयोग गर्नेछ। आयोजनाको सम्भाव्यता अध्ययन पूरा भइसकेको छ भने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन समेत तयार भइसकेको छ।

विद्युत विकास विभागले सूचना जारी गर्दै आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ।

यो नदी प्रवाहमा आधारित आयोजना हो। यसको डिजाईन बहाव ५.१ घनमिटर प्रतिसेकेण्ड र कुल हेड १५२.६८ मिठर रहनेछ। आयोजनाबाट वार्षिक सरदर ३६.४३ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ।

आयोजनाको मुख्य संरचनाहरु खानी खोलाको बायाँ किनारमा पर्दछन्। खानी खोलामा बाँधबाधी खोलाको बायाँपट्टी निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरु ग्राभल ट्रयाप, सेल्टलिङ बेसिन, फोर बे, पेनस्टक पाइप हुदै विद्युत गृहमा लगिनेछ। विद्युत उत्पादनपछि टेलरेस क्यानलमार्फत खानी खोलामा पठाइनेछ।

विद्युत उत्पादनका खानी खोलाको पानी फर्काउन बनाइने बाँध १४.६६ मिटर हुनेछ। १०१० मिटर लामो फलामको पेनस्टक पाइप प्रयोग हुनेछ।

उत्पादित विद्युतलाई १८ किलोमिटर लम्बाइमा रहेको नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ।

आयोजना आयोजनाबाट २०८३ पुसमा विद्युत उत्पादन गर्ने लक्ष्य छ।