
काठमाडौं। सरकारले सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार सचिव बैकुण्ठ अर्याललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो।
अर्यालको ठाउँमा मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई ल्याउने निर्णय क्याबिनेटले गरेको छ। अर्यालको पदावधि अब करिब ३ महिना मात्रै बाँकी छ। तीन महिना मात्रै पदावधि बाँकी रहेका अर्याललाई सरकारले सञ्चार मन्त्रालयबाट सरुवा गरेको हो।
सरकारले अर्याललाई २०७८ साउनमा प्रधानमन्त्री कार्यालयबाटै सञ्चार मन्त्रालय ल्याएको थियो। बुधबार नै नयाँ सचिव राउत रमाना लिएर सञ्चार मन्त्रालय आउने बुझिएको छ।
नयाँ सचिव आउने भएपछि दूरसंचार प्राधिकरणका नवनियुक्त कानून सदस्य कृष्णप्रसाद पोख्रेलले भोलि नै नयाँ सञ्चार सचिवसहित पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ।