
काठमाडौं। सुक्खा पहिरो गएर गएरातिदेखि अवरुद्ध डुम्रे बेँसीशहर सडकखण्डमा आवागमन पुनः सञ्चालनमा आएको छ। बेँसीशहर-१ उदिपुरको देउराली डाँडामा पहिरो पन्छाएसँगै सडकमा आज बिहानदेखि सवारी आवागमन पुनः सञ्चालनमा आएको हो।
अघिल्लो भदौ महिनामा पहिरोले पक्की सडक भत्काएको थियो। सो स्थानमा गत वर्ष पुनः पहिरो खसेपछि वैकल्पिक सडक खुलाइएको छ। उक्त स्थानमा फेरि ढुंगा-माटो झरेर आवागमन अवरुद्ध भएको थियो।
माथिबाट झरेको ढुंगा माटो लमजुङस्थित डुम्रे-बेँसीशहर-चामे योजना सडक कार्यालयको डोजरले हटाएपछि आवागमन सहज भएको हो। रातिदेखि उक्त सडकमा रोकिएका सवारी साधन सञ्चालनमा आइसकेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए।
उनका अनुसार बेँसीशहरबाट काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीशहर आउने सवारी साधन सञ्चालन भएसँगै यात्रु हर्षित भएका छन्। ४२ किलोमिटर रहेको यो सडकखण्डमा सबैभन्दा बढी समस्या देउराली डाँडा क्षेत्रमा छ। दिनहुँजसो सुक्खा पहिरोले पटक-पटक सवारी अवागमन रोकिँदै आएको छ।
पहिरो ठूलो रहेकाले तत्काल दिगोरुपमा समाधानसमेत गर्न सक्ने अवस्था छैन। सडक मर्मत गर्नका लागि २० करोडमा ठेक्कासमेत गरिसकेको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालयले जनाएको छ। यहाँ हिउँदमा जसोतसो सवारी चल्दै आए पनि वर्षामा भने ठप्प हुने देखिन्छ।
यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्छन्। यो सडक अवरुद्धका कारण उनीहरुलाई समेत समस्या हुने गर्दछ। यो सडक अवरुद्धका कारण अन्य सार्वजनिक सवारी साधन रोकिनु सामान्य कुरा भए तापनि यस पहिरामा आकस्मिक एम्बुलेन्ससमेत रोकिनुपर्ने अवस्था छ।