
काठमाडौं। डेढ महिनाअघि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आइएफआर ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ प्रणाली अन्तर्गतको उडान सुरु भएको छ। योसँगै अब आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले १८ घण्टा ‘बिहान ६ बजेदेखि राति १२ बजेसम्म’ घण्टा उडान गर्न सक्ने विमानस्थल प्रमुख विक्रमराज गौतमले बताए।
आइएफआर प्रणाली लागू भएसँगै यसअघि भिएफआर ‘भिजुअल फ्लाइट रुल्स’ प्रणालीअन्तर्गत उडान गर्दै आएका आन्तरिक वायुसेवालाई आइएफआर उडान प्रणाली अनिवार्य गरिएको उनले जानकारी दिए।
‘आइएफआर प्रणाली लागू भएसँगै यो विमानस्थलमा उडान अवतरण गर्ने कम्पनीलाई थप सहज हुन भएको छ। यात्रु सेवा सहजताको हिसाबले यात्रुले रात्रीकालिन उडान सेवा लिन सक्नेछन्।’ विमानस्थल प्रमुख गौतमले भने।
आइकाओअन्तर्गत एयराक साइकलमा यो विमानस्थल दर्ता भएसँगै आइएफआर प्रणाली लागू भएको हो।
आइएफआर प्रणाली पूर्ण यान्त्रिक सञ्चालन प्रणाली हो। भिजुअल फ्लाइट रुल्स (भीएफआर) को तुलनामा आइएफआर उडानमा केही समय लाग्ने भएपनि तुलनात्मक रुपमा सुरक्षित र सहज रहेको प्राधिकरणले जनाएको छ।
पोखराको नयाँ विमानस्थल साना जहाजका लागि मात्रै उडान-अवतरणमा उपयुक्त रहेको मानिएको छ।
यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन्। चिनियाँ एक्जिम बैंकबाट २२ अर्ब रुपैयाँ चर्को ब्याजमा लिएर यो विमानस्थल निर्माण गरिएको छ। चर्को ब्याजमा लिइएको ऋणको ब्याज र किस्ता विमानस्थलबाट नउठ्ने भन्दै आलोचना समेत हुने गरेको छ।
आइएफआर कार्यान्वयनमा आएसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि कोरियन एयर, विज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायत अन्तर्राष्ट्रिय वायुसेवा चासो देखाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।