माघमा तीन जलविद्युत आयोजनाले पाए निर्माण अनुमति, कुन-कुन हुन् ती आयोजना ?

बिजमाण्डू
२०७९ फागुन ९ गते ०८:३३ | Feb 21, 2023
माघमा तीन जलविद्युत आयोजनाले पाए निर्माण अनुमति, कुन-कुन हुन् ती आयोजना ?


काठमाडौं। माघमा तीनवटा निजी क्षेत्रबाट प्रवर्द्धित ३ जलविद्युत आयोजनाले निर्माणको अनुमति पाएका छन्। व्यवसायिक घरानाको सक्रियतासँगै प्रतिष्पर्धा बढेकाे छ।

Tata
GBIME
NLIC

विद्युत विकास विभागले तीन जलविद्युत आयोजनालाई निर्माणको लाइसेन्स अनुमति दिएको हो। सबै खालका अध्ययन पुरा भएका आयोजनाहरुले निर्माणको लाइसेन्स पाउँछन्।

विभागको तथ्यांकअनुसार पहिलो ४.९ मेगावाटको अपर पिखुवाखोला जलविद्युत आयोजनाले कन्स्ट्रक्सनको लाइसेन्स पाएको छ। सुम्‍निमा हाइड्रोपावर कम्पनी प्रालिले भोजपुरको पिखुवा खोलामा आयोजना निर्माणका लागि माघ ९ गते लाइसेन्स पाएको हो।

दोस्रो ११.५२० मेगावाटको सानी भेरी जलविद्युत आयोजनाले माघ १२ गते लाइसेन्स पाएको छ। एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट प्रालि  प्रवर्द्धक रहेको आयोजना रुकुमको सानी भेरी नदीमा प्रस्ताव गरिएको छ।

तेस्रो ९.३०० मेगावाटको शिवा खोला जलविद्युत आयोजनाले माघ २० गते लाइसेन्स पाएको छ। ताप्लेजुङको शिवा खोलामा आयोजना प्रस्ताव गरिएको छ। यो आयोजनाको मेवा डेभलपर्स प्रालि  प्रवर्द्धक रहेको छ। यो सीई ग्रुप अफ कम्पनीजको एउटा कम्पनी हो। ग्रुपको अध्यक्ष तथा प्रबन्ध निर्देशक विजयबहादुर राजभण्डारी छन्। उनी निर्माण व्यवसायी समेत हुन्। यी तीन जलविद्युत आयोजनाको कुल क्षमता २९.७२ मेगावाट छ।

चालु वर्ष १७ आयोजनाले निर्माणको लाइसेन्स पाएका छन्। जसको कुल उत्पादन क्षमता ५१९.२४५ मेगावाट छ। हालसम्म ८,६६५.३६३ मेगावाटका २ सय ३५ वटा आयोजनाले निर्माणको लाइसेन्स पाएका छन्। धेरैजसाेमा व्यवसायिक समूहहरुकाे चासाे र सक्रियता छ।

चार आयोजनाले दिए निर्माणको लाइसेन्सका लागि आवेदन

गत महिना चारवटा जलविद्युत आयोजनाले निर्माणका लाागि आवेदन दिएका छन्।

९.४८० मेगावाटको तल्लो दूधकुण्ड हाइड्रोपावरले लाइसेन्सका लागि आवेदन दिएको छ। जसको प्रवर्द्धक नमबुर दूधकुण्ड हाइड्रोपावर प्रालि छ।

१२.५०० मेगावाटको म्याग्दी खोला-बी जलविद्युत आयोजना निर्माण गर्न लागिएको छ। जसको लाइसेन्सका लागि सुस्मित इनर्जी प्रालिले विभाग समक्ष आवेदन दिएको हो। आयोजना म्यादीको म्याग्दी खोलामा प्रस्ताव गरिएको छ।

निसीखोला पावर प्रालिले ८.८०० मेगावाटको निसीखोला जलविद्युत आयोजनाको निर्माणको लाइसेन्स माग गरेको छ। यो आयोजना बागलुङको निसी खोलामा प्रस्ताव गरिएको हाे।

४०.०३० मेगावाटको माथिल्लो सिम्बुवाखोलाका लागि पनि आवेदन दिइएको छ। सिम्बुवा हाइड्रोपावर प्रालिले आवेदन दिएको हो। आयोजना ताप्लेजुङको तापेथोकमा प्रस्ताव गरिएको छ। आवेदन दिएका आयोजनाहरुको कुल क्षमता ७१.०८ मेगावाट छ।

चालु वर्ष ५१ वटा आयोजनाले कन्स्ट्रक्सन लाइसेन्सका लागि आवेदन दिएका छन्। जसको कुल क्षमता २३६३.२०९ मेगावाट रहेका छन्। अहिलेसम्म ७५५७.१६४ मेगावाटका ९६ आयोजनाले निर्माणको अनुमतिका लागि आवेदन दिएका छन्।

दुई आयोजनाले पाए सर्वे लाइसेन्स

माघमा करिब २० मेगावाटका दुई आयोजनाले सर्वे लाइसेन्स पाएका छन्।

१५ मेगावाटको मध्य इवा खोला जलविद्युत आयोजनाले सर्वे लाइसेन्स पाएको छ। काठमाडौंकाे युनिटेक हाइड्रोपावर कम्पनी प्रालि प्रवर्द्धक रहेको आयोजनाले माघ ११ गते लाइसेन्स पाएको हो। पाँचथर र ताप्लेजुङमा पर्ने इखा खोलामा आयोजना प्रस्ताव गरिएको छ।

माघ १२ गते ४.९९० मेगावाटको लप खोलाले सर्वे लाइसेन्स पाएको छ। यो आयोजनाको टाेखामा कार्यालय रहेकाे हार्मोनी इनिसियटिभ्स प्रालि प्रवर्द्धक छ। धादिङको लप खोलामा आयोजना प्रस्ताव गरिएको छ।

चालु वर्ष १४०७ मेगावाटका १४ आयोजनाले सर्वे लाइसेन्स पाएका छन्। हालसम्म  १२४१५ मेगावाट क्षमताका १२७ आयोजनाले लाइसेन्स लिएका छन्।

सर्वेका लागि दुई आयोजनाको आवेदन

माघमा सर्वेका लागि दुई आयोजनाले आवेदन दिएका छन्।

४.१०० मेगावाटको सुपर सभा खोला साना जलविद्यत आयोजनाले आवेदन दिएको छ। यो आयोजना संखुवासभाको सभापोखरीस्थित सभा खोलामा प्रस्ताव गरिएको छ। जसको प्रवर्द्धक संखुवासभा पावर डेभलपमेन्ट प्रालि छ।

२०० मेगावाटको अपर बुढिगण्डकी जलविद्युत आयोजनाले पनि सर्वेका लागि आवेदन दिएको छ। गोरखामा प्रस्ताव गरिएको यो आयोजनाका लागि माघ २३ गते आवेदन दिइएको छ। यो आयोजनाको प्रवर्द्धक रोड नेपाल प्रालि छ।

अहिलेसम्म १२३८.७४१ मेगावाट क्षमताका २० आयोजनाले अनुमति मागेका छन्।