मस्क छाड्न चाहन्छन् ट्‍वीटरको कार्यकारी पद, वर्षको अन्त्यसम्म सीइओ नयाँ ल्याउने

बिजमाण्डू
२०७९ फागुन ३ गते १४:४५ | Feb 15, 2023
मस्क छाड्न चाहन्छन् ट्‍वीटरको कार्यकारी पद, वर्षको अन्त्यसम्म सीइओ नयाँ ल्याउने

काठमाडौं। अर्बपति इलन मस्क माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्वीटरको कार्यकारी पद छाड्न चाहन्छन्। उनले चालु वर्ष सन् २०२३ को अन्त्यसम्म यो कम्पनीका लागि नयाँ सीईओ नियुक्त गर्ने बताएका छन्। 

Tata
GBIME

कम्पनी किनेदेखि मस्कले ट्‍वीटरको व्यवस्थापकीय नेतृत्वको पद आफैं लिएका हुन्। गत डिसेम्बरमा ट्‍वीटर प्रयोगकर्ताहरुलाई आफू कम्पनीको सीइओ बनिरहन हुन्छ कि हुँदैन भनेर ट्वीटर पोलमार्फत प्रश्‍न गरेका थिए।

उक्त पोलमा ५७.५ प्रतिशतले सीइओबाट हट्नुपर्छ भन्नेमा मत दिएका थिए भने ४२.५ प्रतिशतको मत राजीनामा दिनुहुन्न भन्नेमा थियो।

मस्कले सर्वेक्षणबाट आउने नतिजालाई स्वीकार्दै राजीनामा दिने बताएका थिए। तर, त्यतिबेला नै उनले सीइओ पद सम्हाल्न सक्ने व्यक्ति भेटेपछि मात्रा राजीनामा दिने बताएका थिए।

बुधबार दुबईमा भएको विश्व सरकार शिखर सम्मेलनमा भिडियो कलमार्फत बोल्दै उनले नयाँ नियुक्तिबारे जानकारी दिएका हुन्। साथै उनले ट्वीटरले राम्ररी काम गर्न सक्ने सुनिश्चित गर्नु उनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा रहेको पनि बताए।

‘मैले पहिला कम्पनी तथा यसको वित्तीय अवस्थालाई स्थिर बनाउनु पर्छ,’ मस्कले सीइओ कहिले नियुक्त गर्ने भनेर सोध्दा भने, ‘म सायद यो वर्षको अन्त्यतिर यो घोषणा गर्ने छु।’