
काठमाडौं। विद्युत बिक्री आम्दानी साँघुरिएपछि अपि पावरको नाफा ५६.५२ प्रतिशत घटेको छ। पोहोर पुस मसान्तसम्म १४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको ६ महिनामा ६ करोड २३ लाख रुपैयाँ मात्र छ।
विद्युत बेचेर २७ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन पोहोर ३१ करोड ४६ लाख रुपैयाँ थियो। १२.८५ प्रतिशतको गिरावट विद्युत बिक्रीमा देखिन्छ। अन्य स्रोतबाट ५८ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको छ।
तर, ब्याज बढेका कारण भुक्तानी रकम ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ। पोहोर ७ करोड रुपैयाँ भुक्तानी गरेको थियो। यस बाहेकका अन्य खर्च पनि बढेका छन्। १५७.५ करोड रुपैयाँभन्दा बढी खर्चका शीर्षकमा समावेश छन्।
खुद नाफा घटेपछि प्रतिसेयर आम्दानी ३.२५ रुपैयाँमा सीमित छ भने प्रति सेयर नेटवर्थ १०९.६६ रुपैयाँ छ।
कम्पनीको चुक्ता पुँजी बढेर ३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। जगेडा कोषमा ३७ करोड १२ लाख रुपैयाँ सञ्चित छ।