
काठमाडौं। प्रति सेयर आम्दानीसँगै मूल्य घटेपछि ‘ब्लू चिप’ कम्पनीहरुले लाभांशमा मुठ्ठी कस्न थालेका छन्। नाफा वितरणभन्दा सञ्चिति बढाउनुपर्ने दबाब सृजना हुन थालेपछि कम्पनीहरुले लाभांश बाँड्न कन्जुस्याइँ गरेका हुन्।
आकर्षक लाभांश वितरण गर्दै आएकाहरु नै अनुदार हुँदा लगानीकर्ता निराश छन्। पोहोरको तुलनामा उल्लेख्य नाफा गर्नेहरु समेत यसपटक हच्किएका हुन्। लाभांशमा उत्कृष्ट इतिहास भएका कतिपयले अझैसम्म लाभांश नै घोषणा गरेका छैनन्। सरकारी स्वामित्त्वका संस्था स्वयंले लाभांश प्रस्ताव गर्न ढिलाइ गरेका छन्।
गत आर्थिक वर्ष व्यवसायमा सुधार देखिए पनि यो वर्ष सुरुवातबाटै उद्योग व्यसायहरु साँघुरिएका छन्। मुख्यतया तरलता अभावले चर्काएको ब्याजदरले असर गरेको छ। र, विश्वव्यापी रुपमा बढेको मुद्रास्फीतिले पनि प्रभाव परेको हो।
वस्तु तथा सेवाको चर्को मूल्यले उत्पादनमूलक कम्पनीहरुको लागत ह्वात्तै बढेको छ। आम्दानीको सर्वाधिक हिस्सा कच्चा पदार्थमा खर्चिएका छन्। अमेरिकी मुद्राको सटही दर आकासिँदा अवस्था झन् कठिन छ।
मन्दीलाई प्रक्षेपण गर्दै राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई पनि सञ्चिति बढाउन निर्देशन दिएको छ। आगामी आर्थिक वर्षदेखि २.५ प्रतिशत थप पुँजीकोष अनुपात कायम गर्नुपर्ने बैंक-वित्तीय क्षेत्रलाई दबाब छ।
विशेषगरी बोनसलाई प्राथमिकतामा राख्ने कम्पनीहरुको प्रति सेयर आम्दानी घट्दो देखिन्छ। जसलाई पुन: सन्तुलनमा ल्याउन कम्पनीहरुले सकेसम्म कम लाभांश दिने योजना बनाएको एक मर्चेन्ट बैंकर बताउँछन्।
‘यस कारण पनि कम्पनीहरुले नगदलाई बढी प्राथमिकता दिएका छन्। बोनस कम हुँदा समायोजनको प्रभाव न्यून हुन्छ,’ उनले भने, अघिल्लो लाभांश दरलाई निरन्तरता दिएकाहरुले पनि नगदलाई बढी जोड दिएका छन्। चुक्ता पुँजीको अनुपातलाई नाफासँग सन्तुलन गर्न खोजेको देखिन्छ।’
