रत्नाकरः बैंकदेखि इआईएफको यात्रा, ‘हार्डवर्कको कुनै सर्टकर्ट छैन’

बिजमाण्डू
२०७१ भदौ २२ गते ००:०० | Sep 7, 2014
रत्नाकरः बैंकदेखि इआईएफको यात्रा, ‘हार्डवर्कको कुनै सर्टकर्ट छैन’


विश्वका ४९ विपन्न मुलुकको व्यापार अभिबृद्धिमा सघाएर गरिबी निवारणमा योगदान दिन संयुक्त राष्ट्र संघ, विश्व व्यापार संगठन लगायतका संस्था मिलेर छुट्टै निकाय गठन गरेका छन् – इन्हान्स इन्टिग्रेटेड फ्रेमवर्क (इआईएफ) । जसको कार्यकारी प्रमुख छन् ४६ बर्षे नेपाली युवा रत्नाकर अधिकारी ।

लमजुङमा जन्मिएर काठमाडौंबाट स्कुले शिक्षा पुरा गरेका अधिकारी नेपालबाट करिययर सुरु गरि युवा उमेरमै सम्युक्त राष्ट्र संघिय एजेन्सीमा निर्देशक तहमा पुगेका हुन् ।

Tata
GBIME
NLIC

निरन्तरको मेहनतले आफुलाई यो ओहोदामा पुर्याएको उनी बताउँछन् । ‘म धेरै महत्वाकांक्षी छैन किनभने त्यसले निराशा बढाउँछ’ उनी भन्छन् । इआईएफको कार्यकारी निर्देशक बनौंला भनेर कहिल्यै नसोचेको उनी सुनाउँछन् ।

हुनत  अघिल्लो कार्यकालकै लागि सन् २००८ मा ‘हेड हन्टिङ’ गरेर इआईएफ सम्बद्ध केहि अधिकारीले उनलाई आवेदन गर्न सुझाएका थिए । तर, युएनडिपीको जागिर छोडेर पिएचडीको चक्करमा उनले आवेदन गर्न मानेनन् ।

रत्नाकरले सन् २००५ मा युनएनडिपीको श्रीलंकास्थित क्षेत्रीय कार्यालयमा व्यापार विज्ञको जागिर अगावै म्यान्चेष्टर्ड युनिभर्सिटीमा पूर्ण छात्रबृत्ति सहित पिएचडी अवसर पाएका थिए । जाने योजना पनि बनेका थियो ।

अचानक युएनबाट कामका लागि अफर आयो । जनवरीमा गरेको युएनडिपीको आवेदन उनले विर्सि सकेका थिए । तर, जुनमा उताबाट खोजि भयो । एक कार्यक्रममा पोखरा पुगेको रत्नाकर तुरुन्त काठमाडौं आए । टेलिफोनबाट अन्तर्वाता लिएको भोलिपल्टै उनीहरुले सफल भएको भन्दै कन्ट्रयाक्ट पेपर पठाए ।

परिवार र साथीसँगको सल्लाहले युएनमा काम गर्न जाने निधो भयो । त्यस बेलाका लागि उनले पिएचडी त्यागि दिए ।

तर, युएनमा लामो समय अलमलियो भने त्यहिँ हराइन्छ भनेर उनी चनाखो थिए । श्रीमती मोना नेपालमा एक्सनएडमा काम गर्थिन् । श्रीलंकामा पनि उनले एक्सन एडमा काम सुरु गरिन् ।

तर, चार महिना पछि सन्तानलाई समय दिने उनले जागिर छोडिन् । काममा जानु नपरेपछि मोना घरमा चुप बस्न सकिनन् । उनले विभिन्न विश्वविद्यालयमा पिएचडीका लागि आवेदन गर्न थालिन् । अन्ततः उनले पनि वेलायतको वार्विक विश्वविद्यालयमा पिएचडी अवसर पाइन् ।

अब रत्नाकरलाई पनि हतार लाग्न थाल्यो । समय पनि पर्याप्त थिएन । सन् २००५ मा म्यान्चेष्टर्ड विश्वविद्यालयमा पठाएको पोलिटिकल इकोनोमी अफ एक्स्पोर्ट कार्टेल विषयको प्रपोजलमा सामान्य संसोधन गरेर उनले पनि वार्विकमा पठाइ दिए । विश्वविद्यालयले स्विकार गर्यो ।

युएनडिपीको जागिर छोडेर रत्नाकर सन् २००८ मा बेलायत पुगे । त्यसपछि प्रोफेसरसँग विषय परिवर्तनको प्रस्ताव गरे । त्यसबेलाका जल्दोबल्दो विषयको रुपमा रहेका ट्रेड एन्ड क्लाइमेट चेञ्ज र एड फर ट्रेड गरि दुई विकल्प प्रस्तुत भए । उनले दोस्रो रोजे ।

एड फर ट्रेडको त्यहि अध्ययन समेत नजानिँदो गरि उनलाई इआईएफसम्म पुग्ने सिंढी बन्यो । जाम्बियाकी डोरोथी तेम्बोको पदावधि सकिएपछि एक बर्ष अघि इआईएफमा पुनः कार्यकारी निर्देशकका लागि भ्याकेन्सी निस्कियो ।

अधिकारी बेलायतको पढाइ सकेर नेपाल फर्किसकेका थिए । तर, त्यो भ्याकेन्सीमा वास्ता गरेका थिएनन् । नेपालका बाणिज्य मन्त्रालय सम्बद्ध उच्च अधिकारीले नै आवेदनका लागि सुझाए ।

लामो अनुभवसँगै एड फर ट्रेडमा पिएचडी गरेको हुनाले पनि अधिकारीका लागि इआइएफसम्मको बाटो सजिलो रहेका तर्क पेश गरे उनीहरुले । भिडियो कन्फ्रेन्समा अन्तर्वार्ता गर्ने  भनेर उनलाई नयाँ दिल्लीमा डाकियो । तर, त्यहाँ पुग्दा त लिखित जाँच समेत दिनु पर्यो ।

एक सयभन्दा बढि आवेदक मध्ये १२ जनाको सर्टलिष्टमा परे । त्यसपछि अन्तिम चरणको अन्तर्वार्ताका लागि जेनेभा जानुपर्यो । गत बर्षको १६ अगष्टमा साउतीको साधारणसभामा व्यस्त रहेका बेला खबर आयो, उनी इआईएफको कार्यकारी निर्देशकमा छनौट भए ।

आफ्नै मातृभूमीबाट करियर सुरु गरेर संयुक्त राष्ट्रसंघ मातहतका संस्थाका निर्देशक तहमा सोझो नियुक्ती पाउने अत्यन्त सिमित नेपालीमा रत्नाकर पर्छन्  ।

निरन्तर मेहनत र जिम्मेवारी प्रतिको अठोटलाई अहिलेको ओहोदामा पुगेको उनको भनाइ छ । धेरै महत्वाकांक्षा नराख्ने र प्राप्त उपलब्धिमा सन्तोष मान्दै मेहनत गर्ने बानीले जीवन जिउन अझ सजिलो बनाउने उनी बताउँछन् ।
त्यहि सरल सोचमा आधारित भएर इआईएफको चारदेखि पाँच बर्षे कार्यकाल पुरा गरे पछिका दिनबारे उनले योजना बनाइ सकेका छन् – फर्केर नेपाल आउने र यहि क्षेत्रलाई सकेको सेवा गर्ने ।

यो क्षेत्रको ब्यापार उत्थान र गरिबी निवारणका लागि आफ्नो अवाज बुलन्द गरि रहने । उनी आफुलाई राष्ट्रवादीभन्दा धेरै दक्षिण एसियावादी भनेर चिनाउन चाहन्छन् । यसको आफ्नै इतिहास पनि छ ।

सन् १९९० मा दिल्ली स्कुल अफ इकोनोमिक्सबाट माष्टर्स सकेर आएपछि केहि समय लिडर्स भन्ने संस्थामा उनले काम गरे । त्यहाँ दुईबर्ष विताए पछि तात्कालिन इन्डोस्वेज (हालको नेपाल इन्भेष्टमेन्ट) बैंकमा लेखा अधिकृतको रुपमा प्रवेश गरे ।

सात बर्ष बैंकमा विताउँदा म्यानेजरसम्म पुगे तर उनले त्यहाँ भविश्य देखेनन् र राजीनामा दिए । बैंकमा काम गर्दा गर्दै उनले सन् १९९१ मा प्रो-पब्लिक संस्था स्थापना गरेका थिए । बैंकबाट बचेको समय उनले प्रो-पब्लिकलाई दिन्थे ।

त्यहि सिलसिलामा भारतको जयपुरस्थित कट्स भन्ने संस्थाले प्रो-पब्लिकसँग मिलेर नेपालमा एउटा कार्यक्रम राख्यो । त्यसबेला (विश्व व्यापार संगठन) डब्लुटिओको स्थापनाको चहल पहल सुरु भइ सकेको थियो । कट्स र प्रो पब्लिकले गरेको कार्यक्रममा डब्लुटिओ स्थापनापछि दक्षिण एसियाका अवसर र चुनौतीबारे छलफल भयो ।

त्यहिँ दक्षिण एसिया स्तरमा वाचडगको भूमीका निभाउन सक्ने संस्था खोलौं भन्ने प्रस्ताव आयो । सहभागी सबैले सहमति जनाए । नाम ‘साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती)’ जुर्यो । सार्कका सातवटै देशका बिभिन्न संस्थाको प्रतिनिधित्वमा साउती स्थापना गर्ने निर्णय भयो ।

एकातिर बैंक, अर्कोतिर प्रो-पब्लिक, सन् १९९७ देखि पार्टटाइम साउती पनि थपियो । बिहान सरस्वती क्याम्पसमा पठाउनु त छँदैछ । विहान साढे छ बजे कलेज पुगेर पढाउने । नौं बजे हतार हतार घर फर्किएर खाना खाएर बैंक जाने ।

छ बजे छुट्टि भएपछि बिजुलीबजार स्थित प्रो-पब्लिक । त्यहाँ नौ/साढे नौ बजेसम्म काम गरे पछि मात्र घर फर्किने बेला हुन्थ्यो । दिनको कम्तिमा १५ घण्टा नबिसाइ काम, कडा मेहनतको उच्चतम अभ्यास गरे उनले । यहि अनुभवका आधारमा युवा पुस्तालाई सुझाव दिनुपर्दा पनि उनी त्यहि भन्छन् ‘हार्डवर्कको त कुनै सर्टकर्ट नै छैन ।’

त्यसबेला उनले मेहनत गरेको देखेर चिनेजानेकाले यो मान्छेलाई कति धेरै पैसा चाहिएको समेत भन्ने गरेको उनी सुनाउँछन् । तर, उनी पैसाका लागि होइन केही सिक्न र केही हासिल गर्न दौडिरहेका हुन्थे ।
प्रस्तुती: प्रभात भट्टरार्इ/बिजमाण्डू