
काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले राज्यलाई वार्षिक ३२ अर्ब कर तिर्दा पनि सम्मान पाउन नसकेको गुनासो गरेका छन्। केसीले बैंक तथा वित्तीय संस्थाले पारदर्शी भएर काम गर्दा पनि जस पाउन नसकेको बताए।
मंगलबार आर्थिक पत्रकारहरुसँग कुरा गर्दै बैंकरहरु अपमानित हुनुपरेको उनले बताएका हुन्। अध्यक्ष केसीले भने ‘वाणिज्य बैंकहरुले मात्रै गतवर्ष ३२ अर्ब कर तिरेको छ। यसरी पारदर्शी भएर कारोबार गर्दा पनि बैंकरहरुले सम्मान पाउन सकेको छैन्।’
अध्यक्ष केसीले बैंक तथा वित्तीय क्षेत्रले स्वच्छ व्यावसायिक वातावरण सृजना गर्न भूमिका खेलेको बताए।
‘बैंकिङ क्षेत्रमा पुसमा डिपोजिट बढेको छ। डिपोजिट बढेको अवस्थामा १ प्रतिशतले ब्याज घटाउने निर्णय गरिएको छ। बैंकहरुले आवश्यक पर्दा समयमै निर्णय गर्न सक्छन्,’ उनले भने, ‘बैंकले यो पटक परिस्थितिभन्दा एक कदम अघि बढेर ब्याज घटाउने निर्णय गरेको हो।’
व्यापार व्यावसाय राम्रो हुँदा नै बैंक राम्रो हुने भएकाले यस क्षेत्रको विकास गर्न बैंक सधै तत्पर रहेको उनको भनाइ छ। बैंक तथा वित्तीय संस्थाले धेरै पैसा कमायो भन्ने कुरामा कुनै सत्यता नभएको जिकिर गर्दै केसीले गतवर्ष बैंकले औसतमा १० प्रतिशत नाफा वितरण गरेको बताए।