पूर्वका मुख्य ४ राजस्व कार्यालयमा ६ महिनाको लक्ष्य किन पुगेन ? यस्तो छ कारण



अनन्तराज न्यौपाने
२०७९ माघ ७ गते १३:२९ | Jan 21, 2023
पूर्वका मुख्य ४ राजस्व कार्यालयमा ६ महिनाको लक्ष्य किन पुगेन ? यस्तो छ कारण

विराटनगर। व्यापारिक मन्दीसँगै बैंकको किस्ता तिर्नुपर्ने दबाब पनि कडा भएपछि आन्तरिक राजस्वका पूर्वका ४ मुख्य कार्यालयले पुस मसान्तसम्मको लक्ष्य भेट्न सकेनन्।

Tata
GBIME
Nepal Life

पूर्वमा मोरङको विराटनगर, सुनसरीका इटहरी र धरान तथा झापाको चन्द्रगढीस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको लक्ष्य हासिल गर्न नसकेका हुन्। खाद्यान्न, लत्ताकपडा, मदिरा, सुर्ती-चुरोट, निर्माण सामग्री आदि सबैको मागमा कमी आउँदा कारोबार घटेको छ। यसको सोझो असर राजस्व संकलनमा परेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी निर्देशक राधारमण (श्याम) भण्डारीका अनुसार विगतका वर्षमा भन्दा चालु आर्थिक वर्षमा बजारको माग अत्यन्त कम छ। खाद्यान्न, लत्ताकपडादेखि सबैजसो उपभोग्य वस्तुको बिक्री २० देखि ७० प्रतिशतले घटेको छ। बिक्री भएको मालवस्तुको भुक्तानी पनि समयमा हुन सकिरहेको छैन। उधारो उठ्न नसक्ता उद्योगी–व्यवसायी निराश छन्। यही अवस्थाको सिधा असर राजस्व संकलनमा देखिएको हो। 

पुस मसान्तमा व्यवसायीले बैंकको किस्ता पनि तिनुपर्ने अनिवार्यता भएको उनले बताए। ‘राजस्व कार्यालयमा त करदाताले लामो समयसम्म बक्यौता राख्यो भने मात्र कार्यालयले पत्रिकामा नाम प्रकाशित गर्ने हो,’ भण्डारीले भने, ‘तर, बैंकमा किस्ता तिर्न नसक्दा बैंकले तत्काल अखबारमा नाम निकाल्नेदेखि लिलामसम्मका कामको प्रक्रिया सुरु गर्छ। त्यसैले कतिपय उद्योगी–व्यवसायी राजस्व कार्यालयमा बाँकी राखेर भए पनि बैंकलाई किस्ता बुझाउन बाध्य भए। यसका कारण सबै जसो कार्यालयको लक्ष्य अपुग भएको देखिएको हो।’

त्यस्तै पूर्वका मदिरा उद्योगको बिक्रीमा उल्लेख्य ह्रास आउँदा अन्तःशुल्कको असुली पनि कमजोर देखिएको छ। मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगबानी यस पटकको पुस मसान्तमा राजस्व कार्यालयको भन्दा बैंकको प्रेसर धेरै प्यानिक भएको बताउँछन्।

‘बरु राजस्व कार्यालयको दण्डजरिवाना आगामी चैत वा असारमा तिरुँला बैंकको बाँकी नराखौं भन्ने सबैको भावना थियो। किनकि बैंकले कालो सूचीमा राख्यो भने व्यवसाय गर्न ज्यादै गाह्रो हुन्छ,’ उनले भने, ‘यसले गर्दा राजस्व असुलीमा ह्रास आउनु स्वाभाविक हो। फेरि, व्यापार पनि त पहिलेका तुलनामा आधा पनि छैन।’

व्यवसायीले मूअकर समयमा नबुझाए तिर्नुपर्ने करमा थप दस्तुर १० प्रतिशत र ब्याज १५ प्रतिशत लाग्छ। त्यस्तै अन्तःशुल्कको रकम समयमा दाखिला नगरे प्रति बिल प्रतिदिन शून्य दशमलव शून्य पाँच प्रतिशत विलम्ब शुल्क तिर्नुपर्छ। आयकर समयमा नबुझाउनेले १५ प्रतिशत जरिवाना तिर्नुपर्छ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले पुस मसान्तसम्मको ४ अर्ब ४८ करोड रुपैयाँको लक्ष्यमा ३ अर्ब ३९ करोड मात्र संकलन गरेको छ। कार्यालयले मूअकरको १ अर्ब १६ करोड ७३ लाखको लक्ष्यमा १ अर्ब १८ करोड ६२ लाख र आयकरको १ अर्ब ६५ करोड ८२ लाखको लक्ष्यमा १ अर्ब ३६ करोड ११ लाख संकलन गरेको छ।

त्यस्तै अन्तःशुल्कको १ अर्ब ५६ करोड १४ लाखको लक्ष्यमा ७५ करोड २ लाख मात्र असुली भएको छ। मोरङको नेपाल लिकर कम्पनीले आफ्नो उत्पादनमा ७० प्रतिशतसम्मले कटौती गरेपछि त्यसको सिधा असर अन्तःशुल्कको असुलीमा परेको हो।

त्यस्तै झापाको चन्द्रगढीस्थित राजस्व कार्यालयले ६ महिनाको लक्ष्य १ अर्ब ६५ करोड १७ लाखमा १ अर्ब ३२ करोड ६ लाख असुल गरेको छ।

कार्यालयका सूचना अधिकारी भीमप्रसाद आचार्यका अनुसार मूअकरको ६१ करोड ७४ लाखको लक्ष्यमा ४६ करोड ४ लाख तथा आयकरको ७२ करोड ८० लाखको लक्ष्यमा ६१ करोड ५२ लाख संकलन भएको छ। त्यस्तै अन्तःशुल्कतर्फ २५ करोड ८४ लाखको लक्ष्यमा १९ करोड ५४ लाख असुली भएको छ।

सुनसरीको आन्तरिक राजस्व धरानले पुस मसान्तसम्मको लक्ष्य १ अर्ब ८ करोडमा ७९ करोड २८ लाख मात्र संकलन गर्न सकेको छ।

कार्यालयले मूअकरको २५ करोड ४७ को लक्ष्यमा १९ करोड ५१ लख र आयकरको ३७ करोड ५६ लाखको लक्ष्यमा ३० करोड ३५ लाख असुली गरेको जनाएको छ। त्यस्तै अन्तःशुल्कतर्फ ८ करोड ९२ लाखको लक्ष्यमा ३ करोड १० लाख संकलन भएको छ।

सुनसरीकै अर्को राजस्व कार्यालय (इटहरीस्थित)ले प्रथम अर्ध-वार्षिक अवधिमा २ अर्ब १७ करोड २० लाखको कुल लक्ष्यमा २ अर्ब १ करोड ७२ लाख असुली गरेको छ। आयकरको ७२ करोड १८ लाखको लक्ष्यमा ५३ करोड ९६ लाख र मूअकरको ६५ करोड ८ लाखको लक्ष्यमा ५८ करोड ९४ लाख संकलन गरेको छ।

इटहरीको राजस्व कार्यालयले पुससम्मको अन्तःशुल्कको लक्ष्य भने पार गरेको छ। यसअघि रमपम चाउचाउको उत्पादक एसियन थाई फुड्सले धरानस्थित कार्यालयमा अन्तःशुल्क बुझाउँदै आएकोमा चालु आर्थिक वर्षदेखि इटहरीको कार्यालयमा बुझाउन थालेको छ। यही कारणले कार्यालयले अन्तःशुल्कको रकमको लक्ष्य पार गरेको हो।

यसबाहेक यही कार्यालयको कार्यक्षेत्रमा अर्को ठूलो मदिरा उद्योग प्रिमियर डिस्टिलरी पनि पर्दछ। कार्यालयले अन्तःशुल्कको लक्ष्य ७६ करोड ३६ लाखमा ८५ करोड ७३ लाख असुल गरी ११२ प्रतिशतले प्रगति गरेको जनाएको छ।