काठमाडौं। स्थानीयले तोडफोड र आगजनी गर्दा गोरखाको चेपे 'ए' जलविद्युत आयोजनामा ३ करोड ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।
जनप्रतिनिधिसहित स्थानीयले गत मंसिर २४ मा आयोजनास्थलमा पसेर तोडफोड गर्दा उक्त रकम बराबरको क्षति भएको आयोजनाले जनाएको हो। जलविद्युत आयोजना निर्माण गर्दा नहरमा पानी नजाने भन्दै स्थानीयले तोडफोड र आगजनीमा उत्रिएका थिए।
स्थानीयले जलविद्युत आयोजनाको टेलरेसबाट निस्कने पानी नहरभन्दा तल जाने र सिंचाईका लागि लैजान नसकिने भन्दै तोडफोड गरेका थिए।
घटनामा २ वटा कम्प्युटर, २ वटा प्रिन्टर, ४ तले भवनको पुरै सिसा, एउटा एक्स्काभेटर, सिमेन्टसहितका दुई ट्रक क्षतिग्रस्त भएको आयोजनाले जनाएको छ। आयोजना र ठेकेदार कम्पनीको स्टोर र २ वटा मोटरसाइकल जलाइएको छ। दुईवटा मिक्स्चर तलतिर फ्याकिदिएको र त्यसको कस्तो अवस्था छ भन्ने जानकारी नभएको प्रवर्द्धक चम्पावती हाइड्रोपावर लिमिटेडका बोर्ड निर्देशक रामेश्वर लामिछाने बताए। उनका अनुसार अहिले आयोजनाको काम पनि ठप्प छ।
यो जलविद्युत आयोजनाको बाँध गोरखाको सिरानचोक गाउँपालिका र लमजुङको दूधपोखरी गाउँपालिका सिमानामा छ। सिरानचोक १ र २ मा मुख्य संरचना छ। ७ मेगावाटको आयोजना २ वर्षदेखि निर्माणाधीन छ। जसको करिब ६५ प्रतिशत भौतिक प्रगति छ भने अहिलेसम्म ९० करोड रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ।
कम्पनीले २०८० साउन ३ भित्र निर्माण सकेर ऊर्जा उत्पादन परीक्षण सकेर राष्ट्रिय प्रसारणलाइनमा जोड्ने योजना थियो। मंसिर २४ गते स्थानीय बासिन्दाले तोडफोड गरेका कारण घटनापछि आयोजनामा काम ठप्प छ। निर्माण कार्य भइरहेका बेला राइनास सिंचाई योजना जल उपभोक्ता समिति र राइनास नगरपालिका जनप्रतिनिधिले तोडफोड गरेका हुन्।
'कम्पनीले यस अघि नै पत्राचार गरेर नहरको मुहानभन्दा माथि नै विद्युतगृहबाट निस्कने पानी जाने कुरा जानकारी गराएको थियो,' निर्देशक लामिछानेले भने,' उहाँहरुले यसो हेर्नु भएका आधारमा पानी नजाने भन्दै तोडफोडमा उत्रनु भयो।' उनका अनुसार नहरको मुहानभन्दा करिब १६० मिटर माथि टेलरेसको पानी छाडिनेछ। विद्युत विकास विभागले समेत निरीक्षण गरेर विद्युत गृहबाट निस्केको पानी नहरमा जान कुनै प्राविधिक समस्या नभएको पत्र दिइसकेको कम्पनीका अधिकारीहरुले बताएका छन्।
कम्पनीका अनुसार स्वीकृत वातावरणीय प्रतिवेदनमा पावर हाउस क्षेत्र भनेर तोकिएको स्थान (टोपो म्यापमा उल्लेख गरिएको क्षेत्रमा) नै संरचनाहरु निर्माण भएका छन्। लामिछानेका अनुसार आगजनी गर्ने पक्षले उचालेको बिषय इन्टेकभन्दा २०० मिटर तल पानी खसाल्न लाग्यो भन्ने छ। यसमा कुनै सत्यता छैन। विद्युत गृहबाट निस्कने पानी नहरको इन्टेकभन्दा माथि चिली खोला र चेपे खोलाको दोभानभन्दा माथि फाल्ने भनेर वातावरणीय अध्ययनमा उल्लेख छ।
सोही अनुसार नै विद्युत गृहको टेलरेसबाट पानी जान्छ। 'नहरको इन्टेक (नहरको मुहान) भन्दा १६० मिटर माथि र नहरभन्दा २ मिटर लेभल फरकमा छ,' उनले भने। आयोजनाको पानी निस्कने लेभल ६३६.१२ मिटर र नहरको मुहानमा पानीको लेभल ६३३.४ मिटर छ। कम्पनीका इन्जिनियरहरुका अनुसार केहि ब्यक्तिहरुले आयोजनाको जगमा बनिरहेका (पूर्ण निर्माण नभइसकेका) र भौगोलिक अवस्थितिलाई आधार बनाएर मिथ्या सुचना दिएका कारण यस्तो परिस्थिति सिर्जना भएको हो। 'उहाँहरुलाई हामीले माथि नै पानी फाल्ने कुरा पटक पटक जानकारी गराएका थियौं। त्यति हुदा पनि घटना घटाइनु र संवादका माध्यमबाट समस्या समाधानका लागि पहल गर्दा सहमतीमा नआउनु दु:खद छ,' ती इन्जिनियरले भने।
तोडफोड र आगजनीका कारण आयोजनामा हुने ढिलाइले ३० करोड रुपैयाँको क्षति पुग्ने अनुमान छ। 'यहि एक महिना काम रोकिँदा हाम्रो आयोजना ३/४ महिना ढिला जाने निश्चित भयो। तत्कालै सुरु गर्न नसकिए बर्खा सुरु हुन्छ। कामै हुदैन। वर्ष दिन ढिला हुन्छ,' लामिछानेले भने,'हामीले सुरक्षा माग्दा पनि पाएनौं। राज्य विहीनताको अवस्थामा छौं।'
उनले अहिले विना अनुमति निर्माणस्थलमा जाने र आवासमा बसिरहेका कामदारहरुलाई धम्क्याउने काम भइरहेको बताए। 'आयोजना स्थलमा रहेका जनशक्ति र भौतिक सम्पत्तीमा क्षति हुन सक्ने देखिएकाले सरकारसंग सुरक्षा प्रत्याभूति माग गर्दछौं,' उनले भने,' संवाद र वार्ता गरेर आयोजना निर्माण अघि बढाउन चाहेका छौं। सरोकारवाला पक्षलाई अनुरोध गर्दछौं।'










