राजस्व विभागले बजार अनुगमनमा खटायो कर अधिकृत, राजस्वको नाममा व्यक्तिलाई रकम नदिन आग्रह



बिजमाण्डू
२०७९ पुष १२ गते ११:५६ | Dec 27, 2022
राजस्व विभागले बजार अनुगमनमा खटायो कर अधिकृत, राजस्वको नाममा व्यक्तिलाई रकम नदिन आग्रह

काठमाडौं। आन्तरिक राजस्व विभागले बजार अनुगमनका लागि कर अधिकृत खटाएको छ। चालु आर्थिक वर्षलाई 'अनुगमन वर्ष' बनाउने भन्दै विभागले अधिकृत खटाएको हो।

Tata
GBIME
Nepal Life

चालु वर्ष राजस्व नीति तथा कार्यक्रम अनुसार सघन र प्रभावकारी अनुगमन मार्फत राजस्व चुहावटलाई नियन्त्रण गर्ने उद्देश्य लिइएको विभागले जनाएको छ।

करदातालाई सहजीकरण गरी कर सहभागिता वृद्धि गर्न आर्थिक वर्ष २०७९/८० लाई बजार अनुगमन वर्ष बनाउने रणनीति छ। बजार अनुगमनको लागि विभाग मातहतका कार्यालय तथा करदाता सेवा कार्यालयहरुबाट कर अधिकृतसहितको टोली खटाइएको छ।

अनुगमनको क्रममा कागजात जाँच तथा रुजु गर्ने, कर सम्बन्धी विषयहरु जानकारी गराउने र कर परिपालन गरेको नदेखिएमा प्रचलित कर कानुन बमोजिम आवश्यक कारवाही हुनेछ ।

करदाताले आफूले पेस गर्नुपर्ने तथा पेस गरेको विवरण बमोजिम दाखिला गर्ने कर रकमको भुक्तानी राजस्व संकलन गर्ने बैंक वा अनलाइन भुक्तानी प्रणालीबाट मात्र हुने व्यवस्था छ।

यस्तै बैंक काउन्टर बाहेक राजस्व कार्यालय तथा कुनै पनि व्यक्ति तथा स्थानबाट नगद राजस्व बुझिलिने व्यवस्था नरहेको विभागले जनाएको छ।

करदाताहरुले आफ्नो कारोबारसम्बद्ध हिसाबकिताब अद्यावधिक राखि नियमानुसार बिलबिजक जारी गरी व्यवसाय सञ्चालन गर्न विभागले अनुरोध गरेको छ ।

बिक्रेता, खरिदकर्ता/उपभोक्ताहरुले आफूले खरिद बिक्री गरेको वस्तु तथा सेवाको वास्तविक कारोबार मूल्य बमोजिमको बिल लेनदेन गर्न पनि विभागले आग्रह गरेको छ।