काठमाडौं। सोमबार राजस्व सचिव रामेश्वर दंगाल अर्थमन्त्री जनार्दन शर्माको विदाई सकेर घर फर्किए। उनी घर नपुग्दै नयाँ मन्त्री नियुक्तिको खबर पाए। बाटोबाट नै उनी नयाँ मन्त्रीलाई स्वागत गर्न फुलको गुच्छा बोकेर मन्त्रालय पुगे।
संयोग नै मान्नुपर्छ एकैदिन मन्त्रीको विदाई र एकै दिनमन्त्रीको स्वागत। पुर्वमन्त्री शर्माको विदाई गर्न मन्त्रालय पुगेर फर्किएका विभाग लगायतका कर्मचारी नयाँ मन्त्री स्वागतको लागि पुन: मन्त्रालयमै फुल गुच्छा लिएर फर्किए।
मन्त्रीलाई स्वागत गर्न कर्मचारीहरु डेढ घण्टा लामबद्ध भएर मन्त्रालयको गेटमा बसेका थिए। मन्त्री स्वागत गर्न बसेका केही कर्मचारी हर्षित देखिन्थे भने केही कर्मचारी निराश। अर्थसचिव पुष्कर र दंगालको अनुहार मलिन देखिन्थ्यो।
अर्थबाट बिदाई भएर प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ ग्रहण कार्याक्रममा पुगेका शर्माले बा २ झ ३७३३ नम्बरको टोयोटा ल्याण्डक्रुजर गाडी विष्णु पौडेललाई हस्तान्तरण गरे।
शीतल निवासमा शपथ ग्रहण सकेर अर्थमन्त्रालय कार्यभार सम्हाल्न पुगेका पौडेल गम्भीर देखिन्थे। कर्मचारीहरुले हतार हतार मन्त्रीको कार्यकक्ष सरसफाई र नेम प्लेटपनि कम्प्युटर पेपरमा फोटोकपी गरेर टाँसेका थिए। पूर्वमन्त्री शर्मा बसेको आसन भन्दा फरक दिशामा आसन बनाइएको थियो। शर्मा पश्चिम दिशा फर्किएर बस्ने गरेका थिए।
मन्त्री पौडेलका लागि भने पूर्व फर्काएर कुर्सी राखिएको थियो। मन्त्री पौडेल कुर्सीमा बस्ने बित्तिकै अर्थसचिव कृष्णहरि पुष्करले फाइल दिए। र, सबै सरकारी निकाय प्रविधि मैत्री बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरे।
सरकारले डिजिटल नेपालको नारालाई अघि बढाउदै सबै सरकारी निकायलाई प्रविधि मैत्री बनाउने निर्णय गरेको छ। पौडेलले संचारमाध्यमसँग छोटो कुराकानी गरे।
उनले आफू कुनै राजनीतिक भागबन्डामा परेर अर्थमन्त्रालयमा आएको नभई पार्टीले अर्थतन्त्र बचाउन पठाएको दाबी समेत गरे। अर्थतन्त्र संकटको डिलमा रहेको र यसको उद्दार गर्न आफू सक्षम भएको उनले दाबी गरे। अर्थतन्त्र सुधारका लागि निकै मेहनत गर्नुपर्ने र यसको लागि सबैको सहयोग आवश्यक भएको उनले बताए। उनले अर्थतन्त्र संकटको डिलमा रहेको बताएपनि पूर्वमन्त्री शर्माप्रति कुनै कटाक्ष गरेनन्। तर कर्मचारीप्रति भने उनी कडा रुपमा प्रस्तुत भए।
राजनीतिक परिदृष्य स्थायी प्रकृतिको नभएको स्वीकार गर्दै यसबीच उत्कृष्ट नतिजा निकाल्न लागि पर्नुपर्ने उनको भनाई थियो। पहिलो र दोस्रो कार्यकालमा आफू निकै नरम भएको र अब भने नरम नहुने कर्मचारी समक्ष बताएका थिए।
कर्मचारीले गर्न नहुने कामलाई स्पष्ट गर्न नहुने भन्न सक्ने सुविधा भएको बताउँदै सबैभन्दा ठूलो विषय अर्थ मन्त्रालयको गोप्य कोठामा कुनै काम नहुने प्रतिबद्धता पेश गरे।
उनले भने 'म कर्मचारीलाई गलत काम गर भनेर भन्दिन। अर्थमन्त्रालयको मन्त्रीको टेबल पुग्ने फाइल लुकाउनु पर्ने कुनै कारण हुँदैन। टुँडिखेलमै बसेर काम गर्न सक्ने हुनुपर्छ।'










