दसैंमा भारतीय बजार गएर किनमेल गर्ने ग्राहक रोक्न व्यवसायीले सस्तो दसैं बजार सञ्चालन गर्ने



बिजमाण्डू
२०७९ असोज ३ गते १६:२१ | Sep 19, 2022

काठमाडौं। सीमावर्ती भारतीय बजारमा खरिद गर्न जाने नेपाली ग्राहकलाई रोक्न भैरहवामा दसैँ सस्तो बजार सन्चालन हुने भएको छ।

Tata
GBIME
Nepal Life

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा असोज ११ गतेदेखि १४ गतेसम्म बजार सञ्चालन हुने भएको हो।

दसैँ सस्तो बजार बारे जानकारी दिने उद्देश्यले आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष भीष्म न्यौपानेले नेपालीका चाडपर्वहरुमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउन साथ बजारको आयोजना गरिएको बताए।

यस क्षेत्रका अधिकांश नेपाली चाडपर्वको बेलामा मात्र नभएर अन्य समयमा पनि बजार गर्न सीमावर्ती भारतीय बजार सुनौली र नौतनहवा पुग्ने गर्दछन्।

भारतीय बजारमा जाने नेपाली ग्राहकलाई रोक्ने उद्देश्यका साथ विभिन्न उद्योगी, व्यवसायीसँगको सहकार्यमा उपभोक्ताहरुलाई सर्वसुलभ रुपमा एकै थलोबाट सहज तरिकाले दैनिक उपभोग्य वस्तुहरु बिक्री वितरण गरिने कार्यक्रम संयोजक अर्जुन कार्कीले बताए।

विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानको सहभागिता रहने दसैं बजार २०७९ मा साल्ट ट्रेडिङसहित खाद्यन्न, जुत्ता, चप्पल, दुई पाङ्ग्रे अटोमोबाइलसहितका १५ देखि १७ वटा स्टल रहने उनले जानकारी दिए।

यस अवधिमा करिब ४० देखि ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको कार्यक्रम संयोजक कार्कीले बताए।

दसैं र तिहार लक्षित बजारमा सीमावर्ती भारतीय बजार सुनौलीमा नेपालीको घुइँचो लाग्ने गरेको छ। यस्ता नेपाली उपभोक्तालाइ नेपाली बजारमै रोक्ने संघको उद्देस्य रहेको कार्कीले बताए।