निलम्बित प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण मागियो, त्यसपछि पूरक प्रश्न सोध्ने तयारी



बिजमाण्डू
२०७९ भदौ ३१ गते १२:२० | Sep 16, 2022
निलम्बित प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण मागियो, त्यसपछि पूरक प्रश्न सोध्ने तयारी

काठमाडौं। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सम्पत्ति विवरण माग गरेको छ।

Tata
GBIME
Nepal Life

शुक्रबार बसेको बैठकले जबराको सम्पत्ति विवरण उपलब्ध गराउन न्याय परिषद्लाई पत्र पठाएको छ। समितिले शुक्रबार नै विवरण उपलब्ध गराउन परिषद्लाई जानकारी गराएको हो।

बिहान बसेको समितिको बैठक भने केही समयको लागि स्थगित भएको छ। प्रतिनिधिसभाको बैठक चलिरहेकाले समितिको बैठक स्थगित भएको हो।

प्रतिनिधिसभाको बैठक सकिएपछि पुन: समितिको बैठक बस्ने छ। बिहान पुनः जबरालाई बोलाएर पूरक प्रश्न सोध्ने कार्यक्रम भए पनि स्थगित भएको हो। साँझसम्मलाई स्थगित भएको समितिका एक सदस्यले बताए।

बिहान जबरालाई सिंहदरबारमा बोलाएर समितिले यसअघि दिएको बयान प्रमाणित गराइरहेको छ। १७४ पेज लामो बयान दिएकाले जबराको बयान पढ्ने र त्यसमा हस्ताक्षर गराउने गरिएको थियो। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई यस अघि नै ४३ वटा मूल प्रश्न सोधेको थियो।

६ दिनसम्म सिंहदरबार पुगेर जबराले प्रश्नको जवाफ दिएका थिए। त्यसपछि समितिले बिहीबार बयानको क्रममा चोलेन्द्रले आरोप लगाएका व्यक्तिहरूलाई बोलाएर छलफल गरेको थियो।

समितिको छलफलको क्रममा पुनः जबरालाई पूरक प्रश्न सोध्नु परेकाले बोलाउने तयारीमा पुगेको थियो।

११ जना महाअभियोग छलफल समिति गठन भएको थियो। समितिमा एकबाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्‍डित, विष्णु पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन्।

गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो।