काठमाडौं। पछिल्ला दिनहरुमा वाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिन थालेको छ। दसैंतिहार नजिकिँदै गर्दा रेमिटेन्स आप्रवाह बढेर पनि निक्षेपमा सुधार देखिएको हो।
यसबाहेक दसैंतिहारका लागि आवश्यक पर्ने सामान आयातको भुक्तानी भइसकेको छ। नयाँ भुक्तानी गर्नु परेको छैन। साथै सरकारले पनि तल्लो तहसम्म पैसा पठाउन थालेको छ। दसैंअघिका विकास निर्माणका भुक्तानी पनि हुन थालेको छ।
राष्ट्र बैंकका अनुसार, सोमबारको तुलनामा मंगलबार निक्षेप ७ अर्बले बढेको छ। निक्षेप बढेकै कारण सेयर बजार पनि उक्लिन थालेको छ। ऋण भने स्थिर छ।
अहिले वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। ऋण पनि ४१ खर्ब ८२ अर्ब रुपैयाँ छ। पेट्रोलियम व्यवसायीले अहिले पेट्रोलियम पदार्थ उठाउन छाडेका छन्। यसले गर्दा भुक्तानी गर्नु पर्ने दायित्व घटेको छ। यसले गर्दा पनि निक्षेपमा सुधार देखिएको हो।
बुधबार बैंकहरुले स्थायी तरलता सुविधाबापतको सापटी पनि अन्य दिनको तुलनामा कम प्रयोग गरेका छन्। मंगलबार ३० अर्ब ९१ करोड प्रयोग गरेका बैंकले बुधबार २९ अर्ब ८३ करोड प्रयोग गरेका छन्।











