शेयर बजार घटिरहेका बेला एनआरएन टोलीले गरे १० अर्ब लगानीको प्रस्ताव, मागे वातावरण

बिजमाण्डू
२०७४ पुष ६ गते १६:५७ | Dec 21, 2017
शेयर बजार घटिरहेका बेला एनआरएन टोलीले गरे १० अर्ब लगानीको प्रस्ताव, मागे वातावरण
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएन) का प्रतिनिधिले नेपालको पूँजी बजारमा १० अर्ब रुपैयाँ लगानी गर्ने बताएका छन्। नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुलाई भेट्दै उनीहरुले लगानीको वातावरण बनाइ दिन आग्रह गरेका छन्। 
 
संघका अध्यक्ष भबन भट्ट र पूर्व अध्यक्ष जिबा लामिछाने सहितको ११ जनाको टोलीले बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलगायतलाई भेटेका छन्। 
 
छलफलमा एनआरएन प्रतिनिधिले आफुहरुले धेरै वर्षदेखि नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको र आगामी दिनमा पनि देशको समग्र आर्थिक विकासका लागि लगानी गर्न चाहिरहेको बताएका थिए। लगानीका लागि पूँजी बजार उपयुक्त माध्यम भएको भन्दै उनीहरुले सहज बाताबरण तयार पारिदिन आग्रह गरेका हुन्। 
 
लामो समयदेखि एनआरएनले पूँजी बजारमा प्रवेश गरि लगानी गर्ने चाहना देखाइरहेका छन्। सरकारले पनि केही बर्षदेखि बजेटमा पूँजी बजारमा एनआरएनलाई भित्र्याउने योजना प्रस्तुत गर्दै आएको छ। 
 
एनआरएनलाई पूँजी बजारमा प्रवेश गराउन कस्तो किसिमको नियम, सुविधा र कार्यविधि बनाउन सकिन्छ त्यसबारेमा बोर्डले गम्भीर भएर विचार गरिदिन टोलीले आग्रह गरेको थियो। साथै एनआरएनले  ब्यक्तिगत लगानीभन्दा पनि संस्थागत लगानी गर्ने बारे जोड दिएका थिए। उनीहरुले एउटा संस्थामार्फत संसारभरी रहेका गैरआबासीय नेपालीको रकम नेपाली पूँजी बजारमा लगानी गर्ने योजना सुनाएका थिए। 
                                    
एनआरएन टोलीको प्रस्तावलाई बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सकारत्मक रुपमा लिएको बताए। 'उहाँहरुले राम्रो प्रस्ताब गर्नु भएको छ, यसमा बोर्डले चाँडै पहल थाल्ने छ,' कार्कीले भने। 
 
लामो समयदेखि नेपाली पूँजी बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउन बोर्डले पहल गरिरहेको छ। बोर्डले यस अघि पनि गैर आवासीय नेपालीलाई पूँजी बजारमा प्रवेश गराउन बोर्डका प्रबक्ता निरज गिरिको संयोजकत्वमा अध्यन समिति नै बनाएर छलफल अगाडि बढाएको थियो। 
 
कार्कीले एनआरएनलाई पूँजी बजारमा भित्र्याउन श्रीलङ्काको मोडल उपयुक्त हुने सुझाएका थिए। 

Tata
GBIME
Nepal Life