BIZMANDU
www.bizmandu.com

लगानीकर्ताको सम्पत्ति जोखिममा परेको उजुरीपछि रिलायन्सको आइपीओ सूचीकरण होल्ड

२०८२ माघ २०

लगानीकर्ताको सम्पत्ति जोखिममा परेको उजुरीपछि रिलायन्सको आइपीओ सूचीकरण होल्ड
लगानीकर्ताको सम्पत्ति जोखिममा परेको उजुरीपछि रिलायन्सको आइपीओ सूचीकरण होल्ड

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट २ वर्षअघिको वित्तीय विवरणका आधारमा तय मूल्यमा अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सको आइपीओ सूचीकरण रोकिएको छ।

Tata
GBIME
Nepal Life

रिलायन्सले पुनर्मूल्यांकनविना २ वर्षअघि पेस गरेको वित्तीय विवरणका आधारमा तय मूल्यमा पैसा उठाएर लगानीकर्ताको सम्पत्ति जोखिममा परेको भन्दै उजुरी परेपछि नेप्सेले सूचीकरण होल्ड गरेको हो।

वित्तीय विवरण म्यानुपुलेसन गरेको रिलायन्स स्पिनिङ मिल्सलाई पुनर्मूल्यांकनविना आइपीओ अनुमति दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। कम्पनीको आइपीओ बिक्रीविरुद्धको अनुमतिलाई लिएर नेप्सेले सूचीकरण रोकेको हो।

‘आइपीओ बिक्रीपछि सूचीकरणका लागि भन्दै कम्पनी आएको थियो। तर, नेपाल स्टक एक्सचेन्जलाई समेत बोधार्थसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाले सूचीकरण अहिलेलाई होल्डमा छ। नेप्सेले थप अध्ययन गरिरहेको छ,’ स्रोतले भन्यो।

सेबोनले कम्पनीलाई पुनर्मूल्यांकनविना आइपीओ बिक्री अनुमति दिएपछि रिलायन्स स्पिनिङ मिल्सले गत पुसमा बुक बिल्डिङमार्फत सर्वसाधारणलाई प्रति कित्ता ८२०.८८ दरमा ९ लाख २४ हजार ७६८ कित्ता सेयर बिक्री गरेको थियो।

त्यसपछि अर्थ मन्त्रालयले सेबोनलाई कम्पनीको आइपीओ बिक्रीमाथि छानबिन गरेर जानकारी दिन निर्देशन दिएको थियो। तर, सेबोनले बनाएको छानबिन समितिले कुनै निष्कर्षमा निकालेको छैन।

पुस पहिलो साता मन्त्रालयले १५ दिनभित्र छानबिनको जानकारी पेस गर्न निर्देशन दिए पनि अहिलेसम्म समितिले अध्ययन टुंग्याएको छैन। रिलायन्सको आइपीओ बिक्री मूल्यभन्दा पहिलो कारोबार मूल्य कम हुने देखिएकाले पनि सूचीकरणमा समस्या देखिएको हो।

नेपाल स्टक एक्सचेन्जले कम्पनीलाई नेटवर्थको बढीमा ३ गुणासम्म ओपनिङ रेन्ज तोक्ने गरेको छ। यस आधारमा अधिकतम मूल्य हुँदा पनि दोस्रो बजारमा रिलायन्सको सेयरको पहिलो कारोबार प्रति कित्ता ५३८.३५ रुपैयाँमा हुनेछ।

यो मूल्य आइपीओ मूल्यभन्दा २८२.४५ रुपैयाँ कम हो। अर्थात लगातार ४ वटा सर्किट लाग्दासमेत लगानीकर्तालाई नोक्सानी हुनेछ। आइपीओमा लगानी गर्नेले आफ्नो पैसा सुरक्षित गर्नका लागि लगातार ५ वटा पोजेटिभ सर्किट कुर्नुपर्नेछ।

आइपीओको मूल्यभन्दा नेटवर्थका आधारमा ओपनिङ रेन्जको अधिकतम मूल्य कम हुने रिलायन्स स्पिनिङ मिल्स पहिलो कम्पनी हुनेछ।