काठमाडौं। अमेरिकी डलरको पुरानो भाउमा बिलिङको ठेक्का आह्वान गर्दा कुनै आवेदन नै नपरेपछि नेपाल टेलिकमले टेन्डरको समयावधि बढाएको छ।
टेलिकमले गत चैत १८ गते बिलिङका लागि ठेक्काको सूचना निकालेकामा अहिलेसम्म एउटै प्रस्ताव नपरेको हो। चार वर्षअघिको डलरको रेटमा ठेक्का निकालिएकाले प्रस्ताव पेस गर्न कम्पनीहरु अनिच्छुक भएका हुन्।
एउटै प्रस्ताव नपरेपछि टेलिकमले आइतबार आवेदन भर्ने समयावधि बढाएर जेठ २९ गतेसम्म पुर्याएको छ। स्रोतका अनुसार डलर भाउ पुरानै दर कायम गरिएकाले टेन्डरमा सहभागी हुँदा कानुनी लफडामा पर्ने डरले इच्छुक कम्पनीहरुले नै प्रस्ताव पेस नगरेको टेलिकम व्यवस्थापनको बुझाइ छ।
‘अहिलेसम्म कुनैपनि कम्पनीले आवेदन दिएका छैनन्। जसका कारण समयावधि जेठ २९ गतेसम्मलाई थपिएको छ,’ स्रोतले भन्यो। यसअघि दिइएको म्याद मंगलबार सकिंदै थियो।
टेलिकमले १० वर्षदेखि चिनियाँ कम्पनी एसिया इन्फोको बिलिङ सिस्टम चलाइरहेको छ। पुरानो र प्रतिस्पर्धात्मक बिलिङ प्रणाली नभएका कारण आम्दानीको ११ प्रतिशतसम्म चुहावट भएको पत्ता लागेपछि टेलिकमले पाँच वर्षदेखि नयाँ सिस्टम खरिद गर्न खोजिरहेको छ।
टेलिकमको बिलिङमा एसिया इन्फोलाई निरन्तरता दिने निर्णयमा भ्रष्टाचारको आशंकापछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरिसकेको छ। अख्तियारले टेलिकमलाई चार वर्षदेखि पेन्डिङमा रहेको नयाँ बिलिङको टेन्डर निकाल्न पनि दबाब दिएको थियो।
अख्तियारको दबाब थेग्न नसकेपछि टेलिकम नयाँ बिलिङ प्रणाली खरिदका लागि ठेक्का निकाल्न बाध्य भएको थियो। तर पुरानो डलर भाउ राखेर एसिया इन्फोलाई ठेक्का दिने नियत राखिएको छ।
टेलिकमको नयाँ बिलिङ प्रणालीको ठेक्कामा प्रतिस्पर्धा गर्न अमेरिकी, स्वीडिस, बेलायती र आयरल्यान्डका कम्पनी इच्छुक छन्। जसमध्ये तीनवटा कम्पनी अमेरिकाका छन्।
अमेरिकाको सीएसजी इन्टरनेसनल, ओर्याकल, नेटक्र्याकर टेक्नोलोजी (पहिलाको एन्डक्स नेटक्र्याकर), बेलायतको सेरेलियन र आयरल्यान्डको बियरिङ पोइन्टसहित ६ कम्पनी इच्छुक भए पनि डलरको पुरानै दर कायम राखिएकाले उनीहरु आवेदन पेस गर्न हच्किएका हुन्।
यी कम्पनीहरुले विभिन्न देशका दूरसञ्चार कम्पनीहरुलाई आवश्यक पर्ने सफ्टवेयर सलुसनदेखि रेभिन्यू अप्टिमाइजेसन सम्बन्धी सेवा प्रदान गर्दै आएका छन्। बिलिङ प्रणालीसमेत यी कम्पनीहरुको कोर पोर्टफोलियो भित्र पर्छ।