एन्थ्रोपिकले प्रति कित्ता ८३ डलरमा आइपीओ निकाल्दै, कम्पनीको मूल्यांकन १.४ ट्रिलियन डलर नाघ्ने

बिजमाण्डू
२०८३ मंसिर ३ गते ०७:५६ | Nov 19, 2026
एन्थ्रोपिकले प्रति कित्ता ८३ डलरमा आइपीओ निकाल्दै, कम्पनीको मूल्यांकन १.४ ट्रिलियन डलर नाघ्ने
Photo: AFP

एआई कम्पनी एन्थ्रोपिकको मूल्यांकन सेयर बजारमा सूचीकृत हुँदा १.४ ट्रिलियन डलरभन्दा माथि पुग्ने भएको छ। एआई च्याटबोट क्लउड बनाएको कम्पनी एन्थ्रोपिकले बिहीबार अमेरिकी प्रविधि केन्द्रित सेयर बजार नास्डाकमा प्रति कित्ता ८३ डलरमा सेयर निष्कासन गर्ने भएको छ।

GBIME
Tata

तर, सूचीकृत भएको केही सातापछि स्पेसएक्सको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको थियो। यसले उच्च मूल्यांकनसहित बजारमा प्रवेश गर्नु मात्रै दीर्घकालीन सफलताको आधार नहुने देखाएको छ।

एन्थ्रोपिकले प्रारम्भिक सेयर निष्कासनबाट ६८ अर्ब डलरभन्दा बढी जुटाउने अपेक्षा गरेको छ। निजी सेयर निष्कासनमार्फत थप २६ अर्ब डलर प्राप्त गर्ने कम्पनीको योजना छ।

यसअनुसार कम्पनीले कुल ९४ अर्ब डलर पुँजी जुटाउने अपेक्षा गरेको छ। यो रकम गत जुनमा स्पेसएक्सले आइपीओबाट जुटाएको रकमभन्दा बढी हो।

च्याटजीपीटी निर्माता ओपनएआई पनि एन्थ्रोपिकको प्रमुख प्रतिस्पर्धी हो। ओपनएआईले आगामी वर्ष सार्वजनिक सेयर बजारमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

त्यसअघि अमेरिकामा पूर्ण रूपमा एआई प्रविधिमा केन्द्रित सार्वजनिक कम्पनी एन्थ्रोपिक मात्रै हुनेछ। गुगल र माइक्रोसफ्टजस्ता प्रविधि कम्पनीले पनि एआई विकास गरिरहेका छन्। तर, उनीहरूको मुख्य व्यवसाय सर्च, सफ्टवेयर र अन्य प्रविधि सेवामा समेत फैलिएको छ।

एन्थ्रोपिकको आइपीओलाई लगानीकर्ताले एआई उद्योगको वास्तविक माग बुझ्ने अवसरका रूपमा हेरेका छन्। लगानी फर्म एम्पावरकी लगानी रणनीति प्रमुख मार्टा नोर्टनले यसले एआई प्रविधिको मागबारे नयाँ जानकारी उपलब्ध गराउने बताएकी छन्।

तर, कम्पनीले भविष्यमा पर्याप्त आम्दानी र नाफा कमाउन सक्नेमा लगानीकर्ताको चासो छ। काउन्टरपोइन्ट रिसर्चका प्रमुख वित्तीय विश्लेषक याङ वाङले आगामी वर्षहरूमा कम्पनीको आम्दानीले बढ्दो वित्तीय दायित्व धान्न सक्ने वा नसक्ने मुख्य प्रश्न रहेको बताएका छन्।

उनका अनुसार आगामी केही वर्षमा कम्पनीले सयौं अर्ब डलर बराबरका वित्तीय दायित्व पूरा गर्नुपर्ने हुन सक्छ। यद्यपि, सार्वजनिक सेयर बजारमार्फत एआईका अत्याधुनिक मोडल विकास गर्ने कम्पनीमा प्रत्यक्ष लगानी गर्ने अवसर दुर्लभ हुने उनको भनाइ छ।

एन्थ्रोपिकको स्थापना ओपनएआई छाडेका केही संस्थापकले गरेका हुन्। कम्पनीको नेतृत्व डारियो अमोडेई र ड्यानिएला अमोडेईले गरेका छन्।

एन्थ्रोपिकले एआई विकासमा सुरक्षालाई प्राथमिकता दिने कम्पनीका रूपमा आफ्नो पहिचान बनाएको छ। कम्पनीले अमेरिकी रक्षा मन्त्रालयका एआई उपकरणलाई लगभग कुनै प्रतिबन्धबिना प्रयोग गर्न दिनुपर्ने माग अस्वीकार गरेको थियो।

कम्पनीका प्रमुख कार्यकारी डारियो अमोडेईले शक्तिशाली एआई प्रविधिले भविष्यमा मानव अस्तित्वमै जोखिम सिर्जना गर्न सक्ने धारणा सार्वजनिक गर्दै आएका छन्। तर, प्रविधिको विकास र व्यवसाय विस्तारका लागि कम्पनीले थप पुँजी जुटाउने प्रयास गरिरहेको छ।

नोर्टनका अनुसार बजारमा उतारचढाव भइरहे पनि एन्थ्रोपिकले अहिले नै आइपीओ ल्याउनुको मुख्य कारण थप पुँजीको आवश्यकता हो। उनका अनुसार एआई संचालन गर्न ठूलो वित्तीय स्रोत आवश्यक पर्ने भएकाले सार्वजनिक सेयर बजारले कम्पनीलाई थप लगानी जुटाउने अवसर दिन्छ।

एआई उद्योगमा बढ्दो लगानीसँगै यसको व्यावसायिक मोडलमाथि पनि प्रश्न उठ्न थालेका छन्। एआई प्रणाली संचालनका लागि महँगा कम्प्युटर चिप आवश्यक पर्छन्, जसको आपूर्ति सीमित छ।

यसका अतिरिक्त एआई प्रविधि संचालन गर्न ठूलो क्षमताका डेटा सेन्टर आवश्यक पर्छन्। यस्ता पूर्वाधार निर्माण र संचालनका लागि अन्य प्रविधि कम्पनीसँग समेत ठूलो वित्तीय सम्झौता गर्नुपर्ने अवस्था छ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले पनि एआईसँग सम्बन्धित ऋणको तीव्र वृद्धिप्रति चिन्ता व्यक्त गरेको छ। अक्टोबरमा सम्भावित ब्याजदर वृद्धिबारे छलफल गर्न बसेको बैठकको विवरणमा एआईसम्बन्धी ऋण जटिल र पारदर्शिताको अभाव भएका वित्तीय संरचनामार्फत विस्तार भइरहेको उल्लेख छ।

बैठकमा सहभागी केही अधिकारीले एआईसम्बन्धी वित्तीय जोखिम सीमित संख्याका कम्पनीमा केन्द्रित हुँदै गएको विषयसमेत उठाएका थिए। यसले एन्थ्रोपिकको आइपीओलाई कम्पनीको व्यावसायिक सम्भावना मात्र नभई समग्र एआई उद्योगको लगानी र नाफा क्षमताको परीक्षणका रूपमा समेत हेरिएको छ।