काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ।
बडुवालले सरुवा गरिएको ठाउँमा जान अटेर गरेपछि उनको आर्थिक तथा प्रशासनिक जिम्मेवारी मन्त्रालयले बुधबार रद्द गरेको हो।
मन्त्रालयले बडुवाललाई गत भदौ २५ गते जाजरकोटको कुशे गाउँपालिकामा सरुवाको निर्णय गरेको थियो। तर, बडुवाल कुशे गाउँपालिकामा जानुको साटो सान्नी त्रिवेणीकै कार्यरत थिए। मन्त्रालयले सान्नी त्रिवेणीमा दैलेखको महाबु गाउँपालिकाका उदयराज उपाध्यायलाई सरुवा गरेकामा उनलाई हाजिर हुन दिइएको थिएन।
मन्त्रालयले बुधबार कोष तथा लेखा नियन्त्रक कार्यालय कालीकोटको नाममा पत्र लेखेर बडुवालको नाममा सञ्चालन भएको सान्नी त्रिवेणीको खाता रोक्का गरी उपाध्यायको नामबाट सञ्चालन गर्न भनेको छ।









