एउटै खालका कमजोरी तर बलिया पक्ष फरक, काठमाडौं र चितवनमध्ये कसको पल्ला भारी?

बिजमाण्डू
२०८३ मंसिर २ गते १२:४८ | Nov 18, 2026
एउटै खालका कमजोरी तर बलिया पक्ष फरक, काठमाडौं र चितवनमध्ये कसको पल्ला भारी?

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा आज इलिमिनेटरको खेल हुँदैछ। दोस्रो क्वालिफायरमा पुग्न एउटै खालको कमजोर पक्ष तर फरक-फरक बलिया पक्ष भएका काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दैछन्।

GBIME
Tata

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा यो खेल साँझ ५ बजे सुरु हुनेछ।

यसअघि नै पहिलो क्वालिफायरमा जित निकाल्दै साविक विजेता लुम्बिनी लायन्सले फाइनलमा स्थान बनाइसकेको छ। तर, पराजित भएको सुदूरपश्चिमको खेल अझै बाँकी छ। उसले अब फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नेछ।

सुदूरपश्चिमसँग दोस्रो क्वालिफायर खेल्न आज चितवन र काठमाडौं भिड्दैछन्। आज जस्ले जित्छ उसैले दोस्रो क्वालिफायर खेल्छ सुदूरपश्चिमसँग।

आज हार्ने टोलीलाई भने सुदूरपश्चिमलाई जस्तो छुट छैन। समीकरण सिधा छ- आज जो हार्‍यो उ बाहिरियो। जसले जित्यो – दोस्रो क्वालिफायर पुग्यो।

पहिलो क्वालिफायर खेलेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच एउटा समानता थियो- सन्तुलन। विदेशी खेलाडीदेखि नेपाली खेलाडीसम्म जो कोही म्याचविनर बन्न सक्थे। तर, चितवन र काठमाडौंको कथा फरक छ।

यी दुवै टोली सीमित विदेशी खेलाडीसँग धेरै निर्भर छन्। चितवन रवि बोपारासँग धेरै नै निर्भर छ। यो संस्करणमात्रै नभएर पहिलो संस्करणबाटै चितवनको अधिकांश जितमा उनी नै निर्णायक हुँदै आएका छन्। उनीसँगै आशा गर्न सकिने खेलाडी डेभिड मलान छन्।

यसपाला चितवनको कप्तानी सम्हालिरहेका जिम्बाब्वेका सिकन्दर राजासँग चाहिँ आशाभन्दा शंका गर्ने ठाउँ धेरै छ। उनले खेलेका हरेक म्याचमा ‘नो बल’ अनिवार्यजस्तो बन्दै गएको छ। यतिको अनुभवी खेलाडीबाट आधा दर्जन बढी नोबल आउनु खासै स्वभाविक छैन। उनले उल्टो अघिल्लो खेलमा त यस्तो पिचले नेपाली क्रिकेट कहीँ नपुग्ने सुझाव दिएका थिए।

अर्कोतर्फ काठमाडौं गोर्खाज यस संस्करणमा पूर्णतः डेभिड वार्नरमा निर्भर रहँदै आएको छ। वार्नर आउनुअघि हार ब्यहोरेको काठमाडौंले बीचमा निकै राम्रो खेलेको थियो। मैदानमा हेर्दा पनि वार्नरले म्याचमा टिमलाई निकै एक्टिभ बनाए।

काठमाडौंका कप्तान करण केसीले वार्नर हुँदा धेरै कप्तान सहज भएको बताएका थिए। तर, जसै वार्नर हिँडे काठमाडौं खस्कियो। क्वालिफायर पुग्न सबैभन्दा सहज स्थितिमा भए पनि नराम्ररी हार ब्यहोर्दै इलिमिनेटरको बाटो समात्न बाध्य भएको छ।

नेपाली खेलाडीतर्फ चितवनमा कुशल मल्ल, देव खनाल, अर्जुन साउदजस्ता खेलाडी त छन् तर यिनले प्रभाव छाड्न सकेका छैनन्। बलिङमा रञ्जितकुमार, रिजन ढकाल र कमलसिंह ऐरीको प्रदर्शन भने राम्रो छ। काठमाडौंमा पनि तीन नेपाल खेलाडी महत्त्वपूर्ण बन्दै आएका छन्। करण केसी, राशिद खान र सन्तोष यादवको लय राम्रो चलिरहेको छ।

काठमाडौं फाइनल पुगे डेभिड वार्नर आउने भन्ने चर्चा चाहिँ क्रिकेट वृत्तमा छ। यो हल्लालाई प्रश्रय दिनेगरी वार्नरले पनि सामाजिक सञ्जालमा ‘सी यू सुन’ भन्दै स्टोरी लगाएका थिए।

लिग चरणमा यी दुई टोली भिड्दा काठमाडौंले १० रनको जित निकालेको थियो।