भारतको सबैभन्दा ठूलो टेलिकम तथा डिजिटल सेवा प्रदायक जियो प्लेटफर्म्सको आइपीओले इतिहास बनाएको भारतीय संचारमाध्यमहरूले उल्लेख गरेका छन्। रिलायन्स इन्डस्ट्रिजको स्वामित्वमा रहेको उक्त कम्पनीको ‘मेगा’ सेयर निष्कासनले पहिलो दिनदेखि नै कीर्तिमानहरू बनाएको थियो।
जियो प्लेटफर्म्सको कुल निष्कासन रकम भारतीय सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो हो। कम्पनीले ३० हजार २१३ करोड भारु बराबरको २७ करोड कित्ता नयाँ आइपीओ जारी गरेको थियो। यसको प्रति सेयर मूल्य १ हजार ६५ देखि १ हजार ११९ भारुसम्म थियो।
यसका लागि माग भन्दा २२.१९ गुणा अर्थात कुल ४.९० लाख करोडभन्दा बढीको आवेदन परेको छ। यसको अनुमानित मार्केट क्याप करिब १०.३ लाख करोड भारु रहेको बताइएको छ।
यो आइपीओले ३ दिनमा ७ ऐतिहासिक कीर्तिमानहरू बनाएको छ। विश्व सेयर बजारको इतिहासमा जियो प्लेटफर्म्स १ करोड (१० मिलियन) भन्दा बढी व्यक्तिगत लगानीकर्ताको आवेदन प्राप्त गर्ने संसारकै पहिलो कम्पनी बनेको छ।
यसअघि भारतकै ‘वारी इनर्जीज’को नाममा ९७.३ लाख आवेदनको रेकर्ड थियो। यो आइपीओ हुण्डाई मोटर इन्डियालाई पछि पार्दै भारतको सबैभन्दा ठूलो इक्विटी अफरिङ बनेको छ।
यो आइपीओका लागि सबैभन्दा बढी आवेदन परेको थियो। एन्कर बुकसहित जियोको कुल सेयर माग ७.४ लाख करोड पुगेको छ। पब्लिक समूहबाट मात्रै ४.९० लाख करोड भारुभन्दा बढीको बोली प्राप्त भएको थियो।
जियो प्लेटफर्मबाट पूर्ण रूपमा ‘फ्रेस सेयर’ निष्कासन गरिएको थियो। यसमा माउ कम्पनी रिलायन्स वा अन्य वैदेशिक साझेदारले आफ्नो पुरानो सेयर बिक्री गरेका छैनन्।
त्यस्तै, यो सबैभन्दा छिटो ‘फुल सब्सक्राइब’ हुने मेगा आइपीओ पनि बनेको छ। बजारमा बिक्री खुला भएको १०० मिनेट (झण्डै पौने दुई घण्टा) भित्रै यो आइपीओ शतप्रतिशत ‘सब्सक्राइब’ भएको थियो। सामान्यतया १५ हजार करोडभन्दा ठूला आइपीओ पूर्णरुपमा बिक्री हुन २ देखि ३ दिन लाग्ने गरेको बजार विश्लेषकहरू बताउँछन्।
यो आइपीओका लागि कारोबार समयसमेत बढाउनुपरेको थियो। अत्यधिक आवेदन र प्राविधिक चापलाई व्यवस्थापन गर्न भारतीय स्टक एक्सचेन्जहरूले दैनिक बिडिङ समय बिहान १० देखि साँझ ५ बजेको सट्टा बिहान ९ देखि साँझ ७ बजेसम्म विस्तार गरेका थिए।
यसले सूचीकृत भएपछि उच्च बजार मूल्यांकन पाउने बताइएको छ।
भारतमा १ हजार ११९ भारुको माथिल्लो मूल्यमा कम्पनीको बजार पूँजीकरण १०.३ लाख करोड भारु पुग्ने बताइएको छ। जसले जियोलाई कारोबारको पहिलो दिनमै भारतका शीर्ष ५ बहुमूल्य कम्पनीहरूको सूचीमा उभ्याउने छ।
सन् २०१६ मा ६ महिनासम्म नि:शुल्क इन्टरनेट र सिम बाँडेर जियोले भारतीय बजार कब्जा गरेको थियो। त्यसको १० वर्षपछि सार्वजनिक सेयर निष्कासनमार्फत पुनः एकपटक यसले वित्तीय बजारमा नयाँ इतिहास रचिरहेको भारतीय विश्लेषकहरू बताउछन्।










