वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्समा

बिजमाण्डू
२०८३ कात्तिक ८ गते ०८:५१ | Oct 25, 2026
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्समा


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनलाई अनुबन्ध गरेको छ। बायाँहाते ब्याटर तथा स्पिनर ३१ वर्षीय एलेन तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्।

GBIME
Tata

एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा उनले २०० रन बनाउनुका साथै सात विकेट लिएका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा २९८ रन र २४ विकेट छ।

सबैखाले टी–२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै १ हजार ६३४ रन बनाएका छन् भने १०९ विकेट लिएका छन्। यस प्रारूपमा उनको ब्याटिङ स्ट्राइक रेट १३९.८९ छ। उनले १०६ छक्का प्रहार गरेका छन्।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

‘फेबियन एलेन अनुभवी टी–२० खेलाडी हुन्। उनको अलराउन्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ। विशेषगरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ,’ खड्काले भने।

टोलीमा अनुबन्ध भएपछि एलेनले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न उत्साहित रहेको एलेनलाई उदृत गर्दै सुदूरपश्चिमले विज्ञप्तिमा भनेको छ।

‘सुदूरपश्चिम रोयल्सको हिस्सा बन्न पाउँदा खुसी छु। नेपालमा आएर एनपीएल खेल्न र टोलीको सफलतामा योगदान दिन उत्साहित छु। समर्थकहरूका अगाडि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु,’ एलेनले भने।