काठमाडौं । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारत पुर्याउन निर्माण भइरहेको ४०० केभी क्षमताको प्रसारण लाइनको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ।
आयोजनाबाट विद्युत् उत्पादन सुरु हुँदासम्म प्रसारण लाइन पनि तयार गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको छ।
संखुवासभाको दिदिङबाट सुरु हुने प्रसारण लाइन भोजपुर, खोटाङ, उदयपुर, सिरहा र महोत्तरी हुँदै धनुषाको ढल्केबरबाट भारतीय सीमावर्ती क्षेत्र बथनाहासम्म विस्तार गरिँदैछ। कुल २१७ किलोमिटर लामो यो प्रसारण लाइन अरुण-३ बाट उत्पादित विद्युत् भारतीय बजारसम्म पुर्याउने मुख्य पूर्वाधार हो।
लगानी बोर्डका सिनियर डिभिजनल इन्जिनियर तथा आयोजना प्रमुख दीपक मुडभरीका अनुसार प्रसारण लाइन निर्माणका क्रममा जग्गाको मुआब्जा वितरण, वन क्षेत्रका रूख कटान र टावर निर्माणको काम समानान्तर रूपमा भइरहेको छ। जग्गासम्बन्धी समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय गरेर काम अघि बढाइएको उनले बताए।
‘प्रसारण लाइनमा मुख्य समस्या भनेकै जग्गाको मुआब्जा हो। सरकारी, निजी, सार्वजनिक र वनको जग्गा पर्छन्। त्यसका लागि हामीले अहिले सबैसँग समन्वय गरेर काम गरिरहेका छौँ,’ उनले भने, ‘समस्या आइरहेको छ, समाधान पनि गर्दै गएका छौँ। अहिलेसम्म ६० प्रतिशत भौतिक प्रगति भइसकेको छ।’
प्रसारण लाइनअन्तर्गत नेपालतर्फ ४५० वटा उच्च क्षमताका टावर निर्माण गरिँदै छन्। सुरक्षा र वातावरणीय मापदण्डअनुसार प्रसारण लाइनको दायाँबायाँ २१-२१ मिटर गरी कुल ४२ मिटर क्षेत्राधिकार कायम गरिनेछ।
आयोजनाका अनुसार तराईका सिरहा र महोत्तरीमा प्रसारण लाइन निर्माणको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ। ती जिल्लामा अधिकांश टावर निर्माण र जग हाल्ने काम सकिएको छ। पहाडी जिल्लामा पनि निर्माणलाई तीव्रता दिइएको मुडभरीले बताए। उनका अनुसार निर्धारित समयभित्र प्रसारण लाइन सम्पन्न गर्ने गरी टोली परिचालन गरिएको छ।
प्रसारण लाइन निर्माणका लागि भारत सरकारले सन् २०१९ अगस्टमा १२ अर्ब ३६ करोड १३ लाख भारतीय रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको थियो।
यसैबीच, अरुण-३ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ। भारतीय कम्पनी सतलज जलविद्युत् निगमले निर्माण गरिरहेको आयोजनाबाट सन् २०२८ फेब्रुअरीसम्म औपचारिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य छ।
विद्युत् गृह तयार हुँदा प्रसारण लाइन अभावमा उत्पादित बिजुली खेर जान नदिन दुवै पूर्वाधारको निर्माणलाई सँगसँगै अघि बढाइएको मुडभरीले बताए।










